काठमाडौं । आज असार १५ । राष्ट्रिय धान दिवस । दही चिउरा खाने दिन । असार महिनालाई ‘मानो खाएर मुरी उब्जाउने’ महिनाका रुपमा लिइन्छ । कृषिप्रधान देश भएकाले बहुसंख्यक नेपालीको पेसा पनि खेतीपाती नै हो ।
यसै अवस्थालाई मनन गर्दै सरकारले २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने घोषणा गर्यो भने २०६२ साल असार १५ गतेदेखि हरेक वर्ष राष्ट्रिय धान दिवस मनाइँदै आएको छ ।
राष्ट्रिय धान दिवस दही चिउरा खाने र खेतमा काम गरेर मनाइने विशिष्ट प्रकृतिको दिन हो । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

असार १५ लाई राजनीतिक दलहरुले पनि विभिन्न कार्यक्रम गरी हर्षोल्लासपूर्वक मनाउने गरेका छन् । नेकपा (एमाले) काठमाडौं महानगर कमिटीले पनि जननेता स्वर्गीय मदन भण्डारीको ७४औं जन्मजयन्ति तथा राष्ट्रिय धान दिवसका अवसरमा आइतबार ‘धान रोपाइँ एवं दही चिउरा खाने कार्यक्रम आयोजना गरेको छ ।
महानगरपालिका वडा नम्बर १६ को मिलिजुली टोलमा आयोजित कार्यक्रममा एमाले केन्द्रीय सदस्य शर्मिला कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा सबै नेपाली कृषि उत्पादनमा सहभागी भए मात्र सार्थक हुने बताइन् ।

वर्षभरका लागि छाक जुटाउन देशभरका किसान असार महिनाभर खेतीमा व्यस्त हुन्छन् । असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोप्छन् । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् ।
असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता छ । त्यसले रोपाइँको महत्वलाई दर्शाउँछ, धान उत्पादनका लागि किसानको दु:खसँग साक्षात्कार हुने प्रेरणा दिन्छ । नेकपा एमालेले पनि किसानका दु:खसँग दु:ख साट्दै र आत्मनिर्भरताका लागि उत्पादनमा केन्द्रित हुने सन्देश दिन धान दिवसलाई विशेष प्राथमिकताका साथ मनाउँदै आएको छ ।

नेकपा (एमाले) काठमाडौं महानगर कमिटी अध्यक्ष गणेश श्रेष्ठले जननेता मदन भण्डारीको विचार र सिद्धान्तलाई व्यवहारमा उतार्न सकेमात्र जन्मजयन्तिले मनाउनुको औचित्य पुष्टि हुने नेताहरुले बताएका छन् । महानगर कमिटीले मिलिजुली टोलस्थित न्हुच्छेकाजी महर्जनको खेतमा धान रोपेर राष्ट्रिय धान दिवस मनाएको हो ।
कार्यक्रममा नेकपा (एमाले)का पोलिट्ब्युरो सदस्य एवं पूर्वमन्त्री आनन्द पोखरेल, अर्का पोलिट्ब्युरो सदस्य कृष्ण राई, काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौला, सचिव राजेश शाक्यलगायत नेता कार्यकर्ता र किसानहरुको उपस्थिति थियो ।


































