निङ्बो (चीन) । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा सुरक्षाका लागि नवप्रवर्तनात्मक सहकार्य अनिवार्य रहेको बताएका छन् ।
चीनको जेझियाङ प्रान्तस्थित निङ्बो सहरमा ‘भविष्यकालागि उर्जा नवप्रर्वतन एकिकरण’ भन्ने मूल नारासहित आयोजित शाङ्हाइ सहयोग संगठन (एससीओ) को पाँचौं ऊर्जा मन्त्रीस्तरीय बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन् ।
उनले एससीओ सदस्य राष्ट्रहरूबीच ऊर्जा विकास, ग्रिड कनेक्टिभिटी, नवप्रवर्तन, ऊर्जा सुरक्षाको प्रवर्धन र क्षेत्रीय सहकार्यलाई सुदृढ गर्नुपर्नेमा जोड दिए । ऊर्जा अब व्यापारको विषय मात्र नभई दिगो विकास र साझा समृद्धिको आधार बन्न पुगेको भन्दै उनले एससीओ क्षेत्रलाई साझेदारी र नवप्रवर्तनमार्फत ऊर्जा स्वतन्त्रताको यात्रामा अघि बढाउनु आवश्यक रहेको उल्लेख गरे ।
नेपालको ऊर्जा योजनाबारे जानकारी दिँदै मन्त्री खड्काले भने, ‘नेपालले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । जसमा १५ हजार मेगावाट निर्यात गरिनेछ ।‘ हाल नेपालमा ३ हजार ५०० मेगावाटभन्दा बढी विद्युत उत्पादन भइसकेको र सरकारको योजना निकट भविष्यमै यो दोब्बर बनाउने रहेको उनले बताए ।

































