काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले देशको कूल गाह्रस्थ उत्पादनमा करिब २३ प्रतिशत योगदान गर्ने कृषि क्षेत्रको सर्वाङ्गीण विकास विना राष्ट्रिय समृद्धि सम्भब नभएको वताएका छन् ।
उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रमको स्थापना कार्यशालालाई सम्वोधन गर्दै मन्त्री अधिकारीले राष्ट्रिय आय, खाद्य तथा पोषण सुरक्षा, रोजगारीको श्रृजना र गरिबी निवारणमा कृषि क्षेत्रबाट विगत दशकहरुदेखि नै महत्वपूर्ण योगदान रहँदै आएको र यस कार्यक्रमले कृषि क्षेत्रको दिगो विकासमा थप सहयोग गर्ने अपेक्षा व्यक्त गरे ।
मन्त्री अधिकारीले कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका २० जिल्लाका ८० वटा पालिकाहरुमा सञ्चालनमा आएको उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रमले कृषि पारस्थितिकीय र उत्थानशील खेती प्रणालीको प्रवर्धनमार्फत उक्त क्षेत्रमा उच्च संभावना भएका उच्च मूल्य कृषि वस्तुहरुको प्रवर्धन गर्दै बजारीकरण मार्फत साना कृषकहरुको आय आर्जन र गरिबी निवारणमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।
उनले विगतदेखि नै परम्पारगत खेती प्रणालीबाट उत्पादन भइरहेका बालीहरुको व्यवसायीकरण गरी मूल्य श्रृंखलाको विकास मार्फत निर्यात प्रवद्र्धन गर्न सके कृषकहरुको जिवनस्तरमा सुधार ल्याई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुग्ने पनि वताए ।
नेपाल सरकार आइएफएडी वीच सम्झौता भई आठ वर्ष अवधिका लागि लुम्बिनी , कर्णाली, र सुदुरपश्चिम प्रदेश अन्र्तगत २० जिल्लाका ८० पालिकाहरुमा लागु हुने यस कार्यक्रमले नाफामूलक, समावेशी र पर्यावरणीय दिगो खाद्य प्रणालीको अवलम्बन मार्फत युवा, महिला, जनजाति र आदिवासीको सशक्तिकरण गर्दै गरिबी निवारण र साना कृषकहरुको उत्थानशीलता सुधार गर्ने लक्ष्य लिएको छ ।
कार्यक्रममार्फत बुटवल उपमहानगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको कृषि बजार निर्माण गरि संचालन गरिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्माले जानकारी दिए ।
सचिव शर्माले कार्यक्रममार्फत देशका अन्य क्षेत्रहरुमा स्थापना भएका स-साना कृषि बजारहरुको आवद्धता गरी उच्च मूल्य कृषिवस्तुहरुको क्षेत्रीय र अन्तर्राष्ट्रिय बजारमा निर्यात प्रवर्धन गर्न सक्ने संभावना समेत रहेको वताएका छन् ।

































