काठमाडौं । नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरिएको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको संयुक्त इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दायर मुद्दामा मेयर बस्नेतलाई दोषी ठहर गर्दै निर्णय गरेको हो ।
नेपाली कांग्रेसबाट दुईपटक निर्वाचित भएका बस्नेतले पद्मा कोलोनी प्रालिका सञ्चालक अध्यक्ष राजुप्रसाद कँडेलसँग ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ घुस लिएको ठहर अदालतले गरेको छ ।
बस्नेतले उक्त घुस रकम र जग्गा विभिन्न व्यक्तिहरूलाई बिक्री वितरण गर्दै १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको पनि प्रमाणित भएको विशेष अदालतको आदेशमा उल्लेख छ।
घुस दिनेलाई पनि सजाय निर्धारणका लागि यही असार १६ गते पेशी तोकिएको छ ।
यसैबीच, बस्नेतकी पत्नी उर्मिलालाई भने अदालतले निर्दोष ठहर गर्दै सफाइ दिएको छ ।

































