रौतहट । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्ज न्यायाधीशहरूको व्यक्तिगत सुरक्षा (पिएसओ)परिवर्तन गरिएको छ ।
रौतहट राजपुर बमकाण्डमा जन्मकैद पाएका काँग्रेस पूर्वसांसद आफताब आलमलाई उन्मुक्ति दिने न्यायाधीशमाथि कालो मोसो प्रहारको घटनापछि १३ जना न्यायाधीशहरूको पिएसओ परिवर्तन गरिएको हो ।
नेकपा बहुमतका कार्यकर्ताहरूले विहीवार उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्ज न्यायाधीश डा.खुसीराम थारु र अर्जुन महर्जनमाथि कालो मोसो प्रहार गरेको थियो ।
सो घटनाका बेला सुरक्षामा खटिएका प्रहरीले तत्कालीन हस्तक्षेप गर्न नसकेको भन्दै चर्को आलोचना भएपछि फेरिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले बताए ।
उनका अनुसार अदालत सुरक्षामा खटिएको प्रहरी सहायक निरीक्षकको नेतृत्वमा रहेको १० जनाको टोली पनि हटाइएको छ । अब न्यायाधीशहरूका लागि तीन दर्जनजति प्रहरीहरू खटाइएको उनले जानकारी दिए ।
कालो मसी छ्यापेको आरोपमा प्रहरीले नेकपा बहुमत पार्टीका कार्यकर्ताहरू सिरहाका ४८ वषीय गर्भु महतो, सर्लाहीका ४३ वषीय पदमबहादुर मगर र प्यूठान घर भई ललितपुर बस्ने ३८ वर्षीय अविनाश भन्ने किशोर कुवँर रहेका छन् ।
कुवँर पार्टीका केन्द्रीय सदस्य हुन् भने मगर जिल्लाका इन्चार्ज र महतो जिल्ला समिति सम्पर्क सदस्य रहेको खुलेको छ ।
प्रहरीले उनीहरूमाथि शुक्रबार जिल्ला अदालतबाट म्याद थप गरेको छ। केही दिनअघि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्ज न्यायाधीश डा. थारु र महर्जनको इजलासले ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो ।
२०६४ चैत २७ गते पहिलो संविधानसभाको चुनावको अघिल्लो दिन इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा पूर्वसांसद आलमलाई जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएकोमा उच्च अदालतले यसलाई उल्ट्याउँदै आलमलाई सफाइ दिएको थियो । अहिले पूर्वसांसद आलम भने गृह जिल्ला रौतहटमा परिवार तथा शुभचिन्तकसँग भेट्घाटमा व्यस्त रहेका छन् ।

































