निजी अस्पताल र विद्यालयको शुल्कमा ३ प्रतिशत ‘समता शुल्क’ लाग्ने

निजी अस्पताल र विद्यालयको शुल्कमा ३ प्रतिशत ‘समता शुल्क’ लाग्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ देखि निजी अस्पताल र निजी विद्यालयबाट लिइने शुल्कमा ३ प्रतिशत ‘समता शुल्क’ लगाउने भएको छ।

शुक्रबार संघीय संसद्मा प्रस्तुत बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी स्वास्थ्य संस्था र शिक्षण संस्थाबाट प्रदान गरिने सेवामा उक्त शुल्क लागू गरिने घोषणा गरेका हुन्।

बजेट वक्तव्यअनुसार निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाले बिरामीबाट असुल गर्ने सबै प्रकारका सेवा शुल्कमा ३ प्रतिशतका दरले ‘स्वास्थ्य समता शुल्क’ उठाउनुपर्नेछ।

वक्तव्यमा भनिएको छ, “निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्था सञ्चालन गर्ने व्यक्तिले बिरामीबाट असुल गर्ने सबै प्रकारका सेवा शुल्कमा तीन प्रतिशतका दरले स्वास्थ्य समता शुल्क असुल उपर गरिनेछ।”

त्यसैगरी, निजी विद्यालय तथा अन्य निजी शिक्षण संस्थाले विद्यार्थीबाट लिने सबै प्रकारका शुल्कमा ३ प्रतिशतका दरले ‘शिक्षा समता शुल्क’ असुल गर्नुपर्ने व्यवस्था गरिएको छ।

बजेट वक्तव्यमा उल्लेख भएअनुसार “निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले विद्यार्थीबाट असुल गर्ने सबै प्रकारका शुल्कमा तीन प्रतिशतका दरले शिक्षा समता शुल्क असुल उपर गरिनेछ।”

सरकारको यो व्यवस्थासँगै आगामी आर्थिक वर्षदेखि निजी अस्पतालमा उपचार गराउने बिरामी र निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले तिर्नुपर्ने शुल्कमा थप ३ प्रतिशत भार बढ्ने भएको छ। नयाँ शुल्क कार्यान्वयनपछि यसको प्रभाव सेवा शुल्क र शैक्षिक खर्चमा कस्तो पर्नेछ भन्ने विषयमा अभिभावक, विद्यार्थी तथा सेवाग्राहीको चासो बढेको छ।

Tokha