विश्वकपका ३३३ गोल बराबर ३३३ रैथाने बिरुवा रोप्दै लक्ष्मी सनराइज बैंक

विश्वकपका ३३३ गोल बराबर ३३३ रैथाने बिरुवा रोप्दै लक्ष्मी सनराइज बैंक

 

काठमाडौं । लक्ष्मी सनराइज बैंकले फिफा विश्वकप २०२६ मा भएका ३३३ गोल बराबर ३३३ वटा रैथाने बिरुवा रोप्ने आफ्नो प्रतिबद्धता कार्यान्वयन गर्दै वातावरण संरक्षण अभियान ‘द गोल इज ग्रीन (The Goal is Green)’ लाई अघि बढाएको छ।

 

अभियानको प्रभावकारी कार्यान्वयनका लागि बैंकले डब्लूडब्लूएफ नेपाल (WWF Nepal) लाई प्राविधिक संरक्षण साझेदारका रूपमा आबद्ध गरेको जनाएको छ। विश्वकै लोकप्रिय फुटबल प्रतियोगिताको उत्साहलाई वातावरण संरक्षणसँग जोड्दै नेपालमा दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बैंकले जनाएको छ।

 

बैंकका अनुसार विश्वकप २०२६ भर भएका ३३३ गोल बराबर ३३३ रैथाने प्रजातिका बिरुवा रोप्ने प्रतिबद्धता पूरा गरिएको हो। यस अभियानमार्फत प्रत्येक गोललाई नेपालको हरित भविष्यसँग जोड्ने प्रयास गरिएको बैंकको भनाइ छ।

 

साझेदारीअन्तर्गत डब्लूडब्लूएफ नेपाल ले बिरुवाको प्रजाति छनोट, रोपाइँका लागि उपयुक्त स्थानको पहिचान तथा पारिस्थितिकीय पुनःस्थापनासम्बन्धी प्राविधिक मार्गदर्शन प्रदान गर्नेछ। यस्तै, काम्दी सामुदायिक वन समन्वय समिति (Kamdi CFCC) ले स्थानीय जैविक विविधताअनुकूल रैथाने बिरुवा रोप्नुका साथै तिनको संरक्षण र व्यवस्थापनको जिम्मेवारी लिनेछ।

 

लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले दिगोपन बैंकको रणनीतिक प्राथमिकता मात्र नभई दीर्घकालीन मूल्य सिर्जनाको आधार रहेको उल्लेख गर्दै खेलकुदप्रतिको उत्साहलाई जलवायु संरक्षण अभियानमा रूपान्तरण गर्ने उद्देश्यले ‘द गोल इज ग्रीन’ अभियान सञ्चालन गरिएको बताए।

 

त्यसैगरी, डब्लूडब्लूएफ नेपालका कन्ट्री रिप्रेजेन्टेटिभ डा. घनश्याम गुरुङले वन पुनःस्थापना भनेको केवल बिरुवा रोप्नु मात्र नभई उपयुक्त स्थानमा रैथाने प्रजाति रोपेर स्थानीय समुदायसँगको सहकार्यमा दीर्घकालीन संरक्षण गर्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए।

 

काम्दी सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेन्द्र शाहीले पनि यस सहकार्यले जैविक मार्ग (कोरिडोर) पुनःस्थापनाको प्रयासलाई थप प्रभावकारी बनाउने र स्थानीय समुदायलाई दीर्घकालीन लाभ पुग्ने विश्वास व्यक्त गरे।

 

बैंकले आफ्नो ‘द गोल इज ग्रीन’ अभियानमार्फत दिगोपनलाई वित्तीय सेवामा मात्र सीमित नराखी सामाजिक तथा वातावरणीय उत्तरदायित्वसँग जोड्दै ग्राहक, व्यवसाय र समुदायलाई सामूहिक जलवायु अभियानमा सहभागी गराउने लक्ष्य लिएको जनाएको छ।

Tokha