‘नाइमा अटो शो बिक्रीको मञ्च मात्र होइन, नीति बहसको साझा प्लेटफर्म हो’ : ऋतु सिंह वैद्य

‘नाइमा अटो शो बिक्रीको मञ्च मात्र होइन, नीति बहसको साझा प्लेटफर्म हो’ : ऋतु सिंह वैद्य

 

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)की अध्यक्ष ऋतु सिंह वैद्यले नाइमा अटो शो–२०२६ लाई सवारीसाधन बिक्रीको मञ्चमा मात्र सीमित नराखी अटोमोबाइल क्षेत्रका नीति, पूर्वाधार र प्रविधिमाथि बहस गर्ने साझा प्लेटफर्मका रूपमा विकास गरिएको बताएकी छन्।

 

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले साउन २६ देखि ३१ गते (अगस्ट ११–१६) सम्म काठमाडौंको भृकुटीमण्डपमा हुने अटो शोमा ५५ अटोमोबाइल ब्रान्ड र ५२ वटा स्टल सहभागी हुने जानकारी दिइन्।

 

उनका अनुसार यस वर्षको अटो शोको मुख्य आकर्षण ‘लर्निङ सेसन’ हुनेछ, जहाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई), यातायात पूर्वाधार, ट्राफिक व्यवस्थापन, ब्याट्री रिसाइक्लिङ, इथानोल ब्लेन्डिङ तथा वित्तीय नीतिलगायत विषयमा स्वदेशी र विदेशी विज्ञहरूले प्रस्तुति दिनेछन्। भारतबाट ब्याट्री रिसाइक्लिङ र इथानोल मिश्रणसम्बन्धी विशेषज्ञसमेत आमन्त्रण गरिएको उनले बताइन्।

 

वैद्यले नेपालमा विद्युतीय सवारीको प्रयोग तीव्र रूपमा बढ्दै गए पनि ब्याट्री रिसाइक्लिङ प्लान्टको अभाव रहेको उल्लेख गर्दै यस क्षेत्रमा स्पष्ट नीति र आवश्यक पूर्वाधार विकास गर्न सरकारलाई आग्रह गरिन्।

 

अटो शोलाई थप व्यवस्थित बनाउन अपाङ्गमैत्री संरचना, वर्षाबाट सुरक्षित व्यवस्था, स्तरीय खानपान सेवा तथा पर्याप्त पार्किङको व्यवस्था गरिएको छ। पार्किङ नेपाल पुलिस क्लबमा हुनेछ भने लर्निङ सेसन पनि त्यहीँ सञ्चालन गरिने उनले जानकारी दिइन्।

 

उनले दसैं–तिहारअघि आयोजना हुने अटो शोले सवारी बिक्रीमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै नाइमाले व्यापारिक गतिविधिसँगै सडक सुरक्षा र जनचेतनामूलक कामसमेत गर्दै आएको बताइन्। उनका अनुसार ट्राफिक प्रहरीसँगको सहकार्यमा हालसम्म करिब १,६०० जनालाई विद्युतीय र हाइब्रिड सवारी सञ्चालनसम्बन्धी तालिम प्रदान गरिसकिएको छ।

 

सरकारी नीतिबारे धारणा राख्दै वैद्यले विद्युतीय सवारीमा ‘पिक पावर’का आधारमा कर निर्धारण गर्ने व्यवस्था व्यवहारिक नभएको बताइन्। प्राविधिक सेटिङअनुसार पिक पावर परिवर्तन गर्न सकिने भएकाले यसलाई करको आधार बनाउँदा मूल्य र करमा अन्योल सिर्जना हुने उनको भनाइ छ।

 

ट्राफिक व्यवस्थापनका सन्दर्भमा उनले सडकमा पर्याप्त लेन मार्किङ, पार्किङ क्षेत्र र आवश्यक पूर्वाधार विकास नगरी जरिवाना मात्र बढाउनु उपयुक्त नहुने बताइन्। सिटबेल्ट नलगाउने वा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेजस्ता स्पष्ट उल्लङ्घनमा भने कडाइ गर्नुपर्ने उनको सुझाव छ।

 

वैद्यले नाइमाको सदस्य बन्न न्यूनतम पुँजी, निश्चित अवधिको व्यवसाय सञ्चालन तथा सम्बन्धित उत्पादक कम्पनीबाट आधिकारिक मान्यता आवश्यक पर्ने व्यवस्था रहेको जानकारी दिँदै यसले ग्राहकको हित र विश्वास सुरक्षित गर्ने बताइन्।

 

उनका अनुसार आगामी वर्षदेखि यात्रुवाहक र व्यावसायिक सवारीको प्रदर्शनी छुट्टाछुट्टै आयोजना गर्ने तथा अटोमोबाइल क्षेत्रका नीति, लगानी र प्रविधिमाथि केन्द्रित ‘अटोमोटिभ कन्क्लेभ’ आयोजना गर्ने योजना पनि रहेको छ।

 

अन्त्यमा उनले सर्वसाधारणलाई परिवारसहित अटो शोमा सहभागी भई नयाँ प्रविधि, चार्जिङ समाधान र निःशुल्क लर्निङ सेसनबाट लाभ लिन आग्रह गर्दै सहभागीहरूले आफ्ना सुझाव र धारणा राख्न सक्ने व्यवस्था पनि गरिएको जानकारी दिइन्।

Tokha