दार्चुलाबाट जुम्ला जाँदै गरेको जिप दुर्घटनाग्रस्त, दुई यात्रुको मृत्यु

दार्चुलाबाट जुम्ला जाँदै गरेको जिप दुर्घटनाग्रस्त, दुई यात्रुको मृत्यु

धनगढी । अछाममा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

मध्यपहाडी राजमार्गअन्तर्गत अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित थापामोडमा शुक्रबार साँझ करिब ६ः५० बजे दुर्घटना भएको हो। दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको जनकपुरस्थित सत्लोक आश्रमको बा.प्र.०१–०२७ च २२७७ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका ४१ वर्षीय नवीन तुलाधर र बर्दियाको बाँसगढी नगरपालिका–५ का ४५ वर्षीय रामप्रकाश थारुको उपचारका क्रममा मृत्यु भएको हो। उनीहरूलाई सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो। शनिबार बिहान ५ः३० बजे चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।

दुर्घटनालगत्तै अस्थायी प्रहरी पोस्ट बेल्खेतबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी दैलेखको राकमस्थित राकम कर्णाली आधारभूत अस्पताल पुर्‍याएको थियो। प्राथमिक उपचारपछि सबै घाइतेलाई थप उपचारका लागि शुक्रबार राति ११ बजे सुर्खेत रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

घाइतेमध्ये सिराहाको कल्याणपुर नगरपालिका–१० निवासी २७ वर्षीय सन्तकुमार साह र बाँकेको नेपालगञ्ज निवासी तथा जीप चालक २८ वर्षीय राजेन्द्र भिमराज चट्टान गुप्ताको अवस्था गम्भीर रहेको छ। उनीहरूको सुर्खेतमै उपचार भइरहेको छ।

त्यसैगरी, स्याङ्जाको फेदीखोला गाउँपालिका–४ निवासी अर्जुनकुमार पौडेलको टाउको र छातीमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ।

प्रहरीका अनुसार जीप थापामोडबाट कुँजेडातर्फ जाने कच्ची सडकमा खसेको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

Tokha