काठमाडौँ । नेपालको सार्वजनिक ऋण साढे २९ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालय का अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत) सम्म कुल सार्वजनिक ऋण २९ खर्ब ३३ अर्ब ७९ करोड पुगेको हो ।
कुल ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब ८८ अर्ब र बाह्य ऋण १५ खर्ब ४५ अर्ब रुपैयाँ रहेको छ । पछिल्लो ९ महिनामै सरकारले ३ खर्ब ४८ अर्बभन्दा बढी ऋण थपेको छ भने विनिमय दरको उतारचढावका कारण मात्र बाह्य ऋणमा थप १ खर्ब १५ अर्ब बराबरको भार परेको छ ।
गत असार मसान्तसम्म २६ खर्ब ७४ अर्ब रहेको सार्वजनिक ऋण अहिले तीव्र रूपमा बढ्दै साढे २९ खर्ब नजिक पुगेको छ । जनसंख्या आधारमा हिसाब गर्दा प्रतिव्यक्ति ऋणभार करिब १ लाख ५ सय ९४ रुपैयाँ पुगेको देखिन्छ । कुल ऋणमध्ये ५२.६९ प्रतिशत बाह्य र ४७.३१ प्रतिशत आन्तरिक ऋणको हिस्सा रहेको छ ।
जीडीपीको अनुपातमा सार्वजनिक ऋण ४८.०४ प्रतिशत पुगेको छ । यसमध्ये आन्तरिक ऋण २२.७३ प्रतिशत र बाह्य ऋण २५.३१ प्रतिशत छ ।
चालु आवको ९ महिनामा सरकारले ३ खर्ब ४८ अर्ब ऋण उठाएको छ, जुन वार्षिक लक्ष्यको ५८.४५ प्रतिशत हो । यस अवधिमा २ खर्ब ८३ अर्ब आन्तरिक र ६४ अर्ब रुपैयाँ बाह्य ऋण उठाइएको छ ।
उता, सोही अवधिमा सरकारले ऋणको साँवा–ब्याज भुक्तानीमा २ खर्ब ५८ अर्ब रुपैयाँ खर्च गरेको छ । जसमा २ खर्ब ४ अर्ब साँवा र ५४ अर्ब २७ करोड ब्याज भुक्तानी भएको छ । विज्ञहरूका अनुसार यस्तो अवस्था ‘ऋण तिर्न पुनः ऋण लिनुपर्ने’ चक्रमा देश फस्दै गएको संकेत हो ।
राजस्व संकलन अपेक्षाअनुसार बढ्न नसक्दा चालु खर्च धान्नै मुस्किल भइरहेको र विकास तथा पूँजीगत खर्चका लागि ऋणमै निर्भर हुनुपरेको अवस्था देखिएको छ ।

































