काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख तथा नगर शिक्षा समितिका अध्यक्ष मिठाराम अधिकारीको नेतृत्वको टोलीले आज शिक्षामन्त्री सुस्मित पोख्रेललाई सफल कार्यकालका लागि बधाई र शुभकामना प्रदान गर्नुका साथै समसामयिक शैक्षिक मुद्दाका बारेमा मन्त्रीकै कार्यकक्षमा पुगेर छलफल र अन्तरक्रिया गरेको छ ।
छलफलमा नगरका असल शैक्षिक अभ्यास, चुनौती र अवसरहरुको प्रस्तुती गरिएको थियो । नगरपालिकाले शिक्षक व्यवस्थापनका लागि स्थापना गरेको शिक्षक बैंक, विद्यार्थीको सिकाइ सुधारका लागि सञ्चालन गरेको सघन शिक्षण सिकाइ सेसन, विद्यार्थी वृत्ति पहिचान, दिवा खाजाको व्यवस्थापन, प्रधानाध्यापक कार्यसम्पादन करार, रमाइलो शुक्रबार, अन्तरपालिका शैक्षिक साझेदारी, सामुदायिक र संस्थागत विद्यालय साझेदारी कार्यक्रम र शैक्षिक क्यालेण्डरको प्रभावकारी कार्यान्वयनबाट नगरको शिक्षामा आएको परिबर्तनबारे प्रस्तुती गर्नुका साथै शिक्षक दरबन्दीको अपर्याप्तता, बुढानीलकण्ठ स्कूलको लागतप्रभावी सञ्चालन र शैक्षिक सत्र वैशाख १५ गतेबाट सञ्चालन गर्नुपर्दा र हप्ताको दुई दिन बिदा दिंदा बुढानीलकण्ठको शैक्षिक क्यालेण्डरको कार्यान्वयनमा प्रभाब पर्न जाने विषयमा मन्त्रीज्यूको ध्यानाकर्षण समेत गराइएको छ ।

साथै नगरप्रमुख अधिकारीले संघीय शिक्षा ऐन जतिसक्यो छिटो जारी गरेर शिक्षामा देखिएको अन्यौलता हटाउन गरेका थिए । शिक्षकका प्रतिनिधिहरुले शिक्षकको वृत्ति विकासलाई पूर्बअनुमानीय र सेवासुबिधामा वृद्धि गरी शिक्षण पेसालाई गर्बिलो बनाउन सुझाब प्रस्तुत भएको थियो । शैक्षिक क्यालेण्डरको प्रभावकारी कार्यान्वयनबाट बुढानीलकण्ठमा शैक्षिक सत्र २०७९ मा विद्यालय सञ्चालन दिन १७० रहेकोमा हाल २३८ दिन पुगेको छ । शैक्षिक सत्र २०८३ मा समेत यस नगरपालिकाले २३८ दिन विद्यालय सञ्चालन र २०६ दिन पठनपाठन सञ्चालन सुनिश्चित गरी विद्यार्थीको शैक्षिक उपलव्धीमा थप अभिबृद्धि गर्ने लक्ष्य राखेको छ ।
यस सन्दर्भमा हालसालैको शिक्षा मन्त्रालयको बैशाख १५ पछि भर्ना र बैशाख २१ गते पछि पठनपाठन प्रारम्भ गर्न गरेको निर्देशनका सन्दर्भमा नगरप्रमुख अधिकारीले बढानीलकण्ठको शैक्षिक क्यालेण्डरको लक्ष्य पूरा गर्न कठिन हुन जाने भएकाले विद्यालयलाई विद्यार्थी भर्नाको कार्यक्रम शैक्षिक क्यालेण्डर अनुसार नै अगाडी बढाउन र वैशाख १५ गतेअघि अतिरिक्त क्रियाकलाप(रमाइलो शुक्रबारका कार्यक्रम) गर्न दिदा उपयुक्त हुने सुझाब दिए ।
छलफलमा संस्थागत विद्यालयका प्रतिनिधिले बैशाख १५ अघि नै भर्ना शुरु गरी पठनपाठन प्रारम्भ गर्दा हुने कारबाहीको बारेमा र बैशाख महिनामा फि लिन नपाइने सम्बन्धमा सामाजिक सञ्जालमा आएको समाचार बारे जिज्ञासा राख्दा मन्त्रीले यस सम्बन्धमा मन्त्रालयले कुनै निर्णय नगरेको र यो अधिकार बिद्यालयमा निहित रहने बताएका छन् । साथै बैशाख १५ गते अघि अतिरिक्त क्रियाकलाप र विद्यार्थी परमार्श लगायत विद्यार्थीको व्यक्तित्व विकाससँग सम्बन्धित विविध कार्यक्रम गर्न रोक नलागएको समेत बताए ।
नगरप्रमुख मिठाराम अधिकारीले नगरपालिका स्तरमा छिटै आयोजना गरिने छलफल कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भइदिन मन्त्रीज्यूलाई निमन्त्रणा गरिएको र मन्त्रीले समेत उक्त निमन्त्रणालाई स्वीकार गरेको जानकारी दिए ।
संघीय शिक्षामन्त्रीसँगको उक्त छलफल र भेटघाट कार्यक्रममा बुढानीलकण्ठ नगर शिक्षा समितिका सम्पूर्ण पदाधिकारी र शिक्षा महाशाखामा कार्यरत सम्पूर्ण कर्मचारी सहभागी रहेका थिए ।































