काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ कार्यालयले निःशुल्क आँखा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । वडा कार्यालयले शुक्रबार सूचना जारी गर्दै स्थानीय नागरिकहरूको आँखासम्बन्धी स्वास्थ्य समस्याको पहिचान तथा उपचारका लागि शिविर आयोजना गर्न लागिएको जनाएको हो ।
वडा कार्यालयका अनुसार तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोग र बुढानीलकण्ठ नगरपालिकाको समन्वयमा सञ्चालन हुने उक्त शिविर वडा नम्बर ४ मा बसोबास गर्ने नागरिकलाई लक्षित गरिएको छ । शिविरमार्फत आँखाको निःशुल्क परीक्षण, परामर्श तथा औषधि वितरण गरिने जनाइएको छ ।

सूचनाअनुसार शिविर यही मिति २०८३ असोज ११ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ । शिविरको स्थान न्यू भिजन टोल तोकिएको वडा कार्यालयले जनाएको छ ।
शिविरमा आँखाको सम्पूर्ण परीक्षण गरिनुका साथै मधुमेह भएका बिरामीहरूको आँखाको रेटिना परीक्षण, मोतिबिन्दुको प्रारम्भिक जाँच तथा आवश्यक परामर्श सेवा उपलब्ध गराइनेछ । साथै सहभागीहरूलाई निःशुल्क औषधि समेत वितरण गरिने जानकारी दिइएको छ ।
वडा कार्यालयले स्थानीय बासिन्दालाई समयमै उपस्थित भई शिविरबाट लाभ लिन आग्रह गरेको छ ।






























