काठमाडौं । बुढानीलकण्ठ नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएलगत्तै नगरभित्रका निजी तथा सामुदायिक विद्यालयहरूको शैक्षिक अडिट तथा अनुगमन सुरु गरेको छ ।
नगरपालिकाले विद्यालयहरूको शैक्षिक गुणस्तर, शुल्क संरचना, परीक्षा नतिजा, पूर्वाधार तथा विद्यार्थीमैत्री वातावरणको अवस्थाबारे विस्तृत अनुगमन थालेको जनाएको छ ।
यसैक्रममा बुधबार नगरपालिकाको टोलीले Trungram International Academy Secondary School – TIA तथा श्री गणेश माध्यमिक विद्यालय मा पुगेर शैक्षिक अडिट गरेको थियो ।
अनुगमन टोलीमा नगरपालिकाकी उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, शिक्षा महाशाखाका उपसचिव ललित विक्रम सिंह लगायत कर्मचारीहरूको सहभागिता रहेको थियो ।
अडिटका क्रममा उपप्रमुख लामाले शिक्षा क्षेत्रलाई व्यवस्थित, पारदर्शी र गुणस्तरीय बनाउन नियमित अनुगमनलाई प्राथमिकतामा राखिएको बताइन् ।
उनले भनिन्, “विद्यालयहरू केवल परीक्षा नतिजामा मात्र सीमित हुनुहुँदैन । विद्यार्थीहरूको भावना बुझ्नुपर्छ, उनीहरूको गुनासा र आवश्यक प्रश्नहरू सम्बोधन गर्नुपर्छ । विद्यार्थीले सुरक्षित, स्वच्छ र गुणस्तरीय शैक्षिक वातावरण पाउनुपर्छ । नगरपालिकाले तोकेको मापदण्ड कार्यान्वयनमा कमजोरी पाइए आवश्यक सुधारका लागि निर्देशन दिइनेछ ।”
उनले आवश्यक परे विद्यार्थीहरूलाई मनोपरामर्श सेवा उपलब्ध गराउने तथा उनीहरूको सुझाव र भावना बुझ्न विशेष पहल गरिने पनि जानकारी दिइन् ।
त्यसैगरी शिक्षा महाशाखाका उपसचिव सिंहले एसइईको नतिजा मात्रै शिक्षाको मापनको आधार नभएको उल्लेख गर्दै विद्यालयको समग्र व्यवस्थापन, शिक्षकको जिम्मेवारी, विद्यार्थीमैत्री वातावरण तथा आधारभूत सेवाको अवस्थाको समेत मूल्याङ्कन आवश्यक रहेको बताए ।
नगरपालिकाले विद्यालयहरूले स्थानीय तहले निर्धारण गरेको शैक्षिक गुणस्तर मापदण्ड पालना गरे–नगरेको, शुल्क कार्यान्वयन, एसइई नतिजा, शिक्षकको नियमित उपस्थिति, विद्यार्थीहरूको आवश्यकता तथा गुनासा, खानेपानी, शौचालय र अन्य पूर्वाधारको अवस्थाबारे विस्तृत अनुगमन गरेको जनाएको छ ।
विद्यालयका प्रधानाध्यापकहरूसँग भएको छलफलमा आगामी वर्षहरूमा उत्कृष्ट नतिजासँगै व्यावहारिक ज्ञान, नेतृत्व विकास तथा गुणस्तरीय शिक्षामा जोड दिँदै बुढानीलकण्ठ नगरपालिका लाई नमुना शैक्षिक नगरका रूपमा स्थापित गर्ने विषयमा पनि चर्चा गरिएको थियो ।






























