एसईई ग्रेडवृद्धि परीक्षामा ६४.६९ प्रतिशत उत्तीर्ण, ८३ हजारभन्दा बढी विद्यार्थी सफल

एसईई ग्रेडवृद्धि परीक्षामा ६४.६९ प्रतिशत उत्तीर्ण, ८३ हजारभन्दा बढी विद्यार्थी सफल

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजाअनुसार ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

ग्रेडवृद्धि परीक्षामा सहभागी १ लाख २९ हजार ११४ विद्यार्थीतर्फ ८३ हजार ५२३ जनाले सफलता हासिल गरेका हुन्।

नतिजाअनुसार सबैभन्दा धेरै ५१ हजार ४३८ विद्यार्थीले २.४० देखि २.८० सम्म जीपीए प्राप्त गरेका छन्। त्यस्तै १६ हजार ४६७ जनाले २.८०–३.२०, १४ हजार ३६२ जनाले २.००–२.४०, १ हजार १९५ जनाले ३.२०–३.६०, ४५ जनाले १.६०–२.०० तथा १६ जनाले ३.६०–४.०० जीपीए हासिल गरेका छन्।

बोर्डले नतिजा वेबसाइट, आईभीआर तथा एसएमएस/यूएसएसडी सेवामार्फत हेर्न सकिने जनाएको छ। नतिजामा चित्त नबुझेका विद्यार्थीले तोकिएको अवधिभित्र अनलाइनमार्फत पुनर्योगका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

यसैबीच, परीक्षा मर्यादा विपरीत गतिविधिमा संलग्न रहेको आरोपमा केन्द्राध्यक्षको सिफारिसका आधारमा ७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।

Tokha