नयाँ वर्षदेखि रात्रिकालिन बस सेवाः यस्तो छ रुट

नयाँ वर्षदेखि रात्रिकालिन बस सेवाः यस्तो छ रुट

चार पालिकाको पहलमा नयाँ सुरुवात

काठमाडौं । काठमाडौँ उपत्यकामा वर्ष २०८३ को पहिलो दिनदेखि रात्रिकालीन बस सेवा सुरु गरिएको छ । साझा यातायातले राति ८ बजेदेखि ११ बजेसम्म दुई रुटमा सेवा सञ्चालन गरेको हो ।

काठमाडौ महानगरपालिका, ललितपुर महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र चन्द्रागिरी नगरपालिकासँगको समन्वय तथा साझेदारीमा साझा बसले यो रात्री सेवा सञ्चालन आरम्भ गरेको हो । ४ वटा स्थानीय सरकार र साझा बसबिच लिखित सम्झौता समेत गरिएको बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले जानकारी दिइन् ।

सेवा सुरु गर्दै लामाले रात्रीकालीन यातायात सेवाले रात्री व्यवसाय, उद्योग कलकारखानाका श्रमिक, अतिरिक्त समयमा श्रम गर्ने, अनौपचारिक श्रम गर्ने श्रमिकहरू, रात्रीकालीन विद्यालय÷कलेज सञ्चालक तथा विद्यार्थीहरूलाई तथा महिला तथा किशोरीलाई विशेष सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । सेवाबारे जानकारी दिदै लामाले भनिन्– “बसमा काठमाडौ महानगरपालिकाको एक जना नगरप्रहरी हुनेछ भने भाडादर दिउँसोको जस्तै समान हुनेछ । बसमा एआई प्रविधियुक्त सिसिटिभि जडान गरि साझाको कन्ट्रोल रूमबाट नियमित निगरानी गर्न सकिनेछ ।”

लामाले फेसबुकमा लखेकी छिन्–“सबै यात्रु महानुभावहरूलाई हाम्रो साझा पहलकद्मी सहितको साझा रात्री बस सेवामा हार्दिक स्वागत गर्दछौं र काठमाडौ महानगरको विशेष तदारुकताको लागि धन्यवाद व्यक्त गर्दछौं ।”

हाल सात वटा बस सञ्चालनमा ल्याइएको बुढानीलकण्ठका मेयर मिठाराम अधिकारीले जानकारी दिए । बसमा वाइफाइ सुविधा, सिसीटिभी निगरानी र सुरक्षाका लागि नगर प्रहरीको व्यवस्था गरिएको अधिकारीको भनाइ छ । बसहरू निर्धारित रुटमा नियमित अन्तरालमा सञ्चालन हुने उनले बताए ।

पहिलो चरणमा काठमाडौं उपत्यकाको लगनखेलबाट बूढानीलकण्ठसम्म, बूढानीलकण्ठबाट लगनखेलसम्म, थानकोटदेखि एयरपोर्टसम्म र एयरपोर्टबाट थानकोटसम्मको रुटमा विद्युतीय बससेवा सञ्चालन भएका छन् ।

ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूतिगृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बूढानीलकण्ठसम्म एउटा रुट रहेको छ । उत्तरदक्षिणतर्फ पर्ने यो १६ किलोमिटरको एकतर्फी रुट हुने छ ।

यसका लागि ७ वटा विद्युतीय बस प्रयोग गरिएको छ । यो सेवा प्रारम्भिक चरणमा सुरु गरिएको हो र आगामी दिनमा यात्रुको मागअनुसार विस्तार गर्ने योजना रहेको छ ।

Tokha