कक्षा १२ मा २ लाख ३१ हजारभन्दा बढी विद्यार्थी ग्रेडेड, समग्र नतिजा ६४.१३ प्रतिशत

कक्षा १२ मा २ लाख ३१ हजारभन्दा बढी विद्यार्थी ग्रेडेड, समग्र नतिजा ६४.१३ प्रतिशत

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार नियमिततर्फ परीक्षामा सहभागी विद्यार्थीमध्ये ६९.७५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्।

सार्वजनिक नतिजाअनुसार नियमिततर्फ ३ लाख ३२ हजार २४१ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन् भने १ लाख ४७१ जना विद्यार्थी ननग्रेड भएका छन्।

जीपीएका आधारमा हेर्दा ३.६१ देखि ४.०० जीपीए ल्याउने विद्यार्थीको संख्या १७ हजार ७८६ रहेको छ। त्यस्तै ३.२१ देखि ३.६० जीपीए प्राप्त गर्ने ६४ हजार ८२१ जना, २.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २४९ जना तथा २.४१ देखि २.८० जीपीए प्राप्त गर्ने ५० हजार ५९७ जना विद्यार्थी रहेका छन्।

यसैगरी २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ४ हजार ३०८ रहेको छ भने १.६१ देखि २.०० जीपीए प्राप्त गर्ने विद्यार्थी ९ जना रहेका छन्।

आंशिकतर्फ ८५ हजार ९२९ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा ३६ हजार ४२० जना ग्रेडेड भएका छन्। आंशिकतर्फ ग्रेडेड हुने प्रतिशत ४२.३८ रहेको बोर्डले जनाएको छ।

नियमित र आंशिक दुवैतर्फ गरी यस वर्ष कक्षा १२ परीक्षामा कुल ४ लाख १८ हजार १७० जना विद्यार्थी सहभागी भएका थिए। दुवै समूहको नतिजा जोड्दा समग्र ग्रेडेड प्रतिशत ६४.१३ पुगेको छ।

परीक्षाको मर्यादा उल्लंघन गरेको आरोपमा नियमिततर्फ ३० जना र आंशिकतर्फ १० जना गरी ४० जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।

Tokha