हेटौँडाको बजेट ५ करोडले घट्यो, आगामी वर्षका लागि २ अर्ब ८५ करोड विनियोजन

हेटौँडाको बजेट ५ करोडले घट्यो, आगामी वर्षका लागि २ अर्ब ८५ करोड विनियोजन

पूर्वाधार, शिक्षा र स्वास्थ्यमा जोड

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ८५ करोड ५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। मंगलबार सम्पन्न १९औँ नगरसभामा उपमेयर राजेश बानियाँले बजेट प्रस्तुत गरेका हुन्।

उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि २ अर्ब ९० करोड रुपैयाँको बजेट ल्याएको थियो। आगामी वर्षको बजेट चालु वर्षको तुलनामा ५ करोड रुपैयाँले कम रहेको छ। प्रस्तुत बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको छ।

कुल बजेटमध्ये ५७ करोड ३६ लाख ८० हजार रुपैयाँ आन्तरिक स्रोतबाट संकलन गर्ने लक्ष्य राखिएको छ। यस्तै, राजस्व बाँडफाँटबाट ९९ करोड २० लाख ४८ हजार, प्रदेश सरकारबाट १० करोड १ लाख ७२ हजार तथा संघीय सरकारबाट १ अर्ब १८ करोड ४६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

पूर्वाधार विकासका लागि ६७ करोड १९ लाख ८१ हजार रुपैयाँ विनियोजन गरिएको छ। वडास्तरीय योजना तथा कार्यक्रमका लागि ४८ करोड ४० लाख ६२ हजार रुपैयाँ छुट्याइएको छ। सडक बोर्ड अन्तर्गतका योजनाका लागि १ करोड ५० लाख, सडक सुरक्षा तथा उज्यालो सहर कार्यक्रमका लागि ९५ लाख र सिसिटिभी क्यामेरा जडानका लागि ५३ लाख रुपैयाँ विनियोजन गरिएको छ।

हेटौँडा खानेपानी व्यवस्थापन बोर्डसँगको साझेदारीमा खानेपानी योजनाका लागि १ करोड ९० लाख रुपैयाँ बजेट राखिएको छ। परियोजना बैंकका लागि ५० लाख, आकस्मिक पूर्वाधार मर्मतका लागि २ करोड, एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माणका लागि ४ करोड ६० लाख तथा सहरी तथा पूर्वाधार विकास कार्यक्रमका लागि २६ करोड ४९ लाख रुपैयाँ विनियोजन गरिएको छ।

शिक्षा क्षेत्रमा गुणस्तर सुधार, प्राविधिक शिक्षाको विस्तार तथा विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरणलाई प्राथमिकता दिइएको छ। स्वास्थ्यतर्फ ‘मेयरसँग जनता स्वास्थ्य कार्यक्रम’, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि घरदैलो स्वास्थ्य सेवा र मातृ–शिशु स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।

आर्थिक विकास अन्तर्गत कृषि क्षेत्रका कार्यक्रमका लागि ४ करोड १६ लाख, पशु विकासका लागि ३ करोड २४ लाख तथा उद्योग र सहकारी क्षेत्रका लागि १ करोड १९ लाख रुपैयाँ विनियोजन गरिएको छ। खेलकुद विकासका लागि मेयर कप, उपमेयर कप तथा अन्य प्रतियोगिता सञ्चालन गर्न १ करोड ४० लाख रुपैयाँ छुट्याइएको छ।

सरसफाइ तथा फोहोरमैला व्यवस्थापनका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ। दमकल सञ्चालन, मर्मत तथा अग्नि नियन्त्रणका लागि २ करोड १० लाख र वातावरण संरक्षण तथा विपद् व्यवस्थापनका लागि ३ करोड ५५ लाख रुपैयाँ खर्च गरिने भएको छ।

कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ४५ करोड रुपैयाँ विनियोजन गरिएको छ भने संस्थागत क्षमता विकास, सुशासन प्रवर्द्धन तथा सूचना प्रविधिको प्रयोग विस्तारका लागि थप २ करोड ६५ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ।

Tokha