रसुवा । बागमती प्रदेशअन्तर्गतको बुढानीलकण्ठ नगरपालिका र रसुवाको उत्तरगया गाउँपालिकाबीच स्थानीय शासनका असल अभ्यास तथा अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। स्थानीय तहहरूबीच आपसी सिकाइ, समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा स्थानीय शासन सञ्चालन, न्याय सम्पादन, सेवा प्रवाह, सुशासन तथा विकास व्यवस्थापनका विषयमा दुवै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूबीच विस्तृत छलफल भएको थियो।
बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख तथा न्यायिक समिति संयोजक अनिता लामा, न्यायिक समिति सदस्यहरू सावित्री ढकाल (भट्टराई) र विकास तामाङ, कानुनी सल्लाहकार अधिवक्ता पुण्यप्रसाद काफ्ले तथा कानुनी सहजकर्ता अधिवक्ता एलिजा अधिकारी कार्यक्रममा सहभागी थिए।
त्यसैगरी उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल, उपाध्यक्ष चमेली गुरुङ, वरिष्ठ शाखा अधिकृत सृष्टि केसी, विभिन्न वडाका अध्यक्ष, जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा बुढानीलकण्ठ नगरपालिकाले न्यायिक समितिमार्फत विवाद व्यवस्थापन, मेलमिलाप प्रणाली, कानुनी परामर्श सेवा, पूर्वाधार विकास, दलित उद्यमशीलता प्रवर्द्धन, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गरिएका सुधार, रोजगार सिर्जना तथा नागरिक सेवाको पहुँच विस्तारका अनुभवहरू साझा गरेको थियो। नगरपालिकाले सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखेर सञ्चालन गरेका कार्यक्रमबारे समेत जानकारी गराएको थियो।
अन्तरक्रियामा उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालले पर्यटनलाई विकासको प्रमुख आधारका रूपमा अघि बढाइएको जानकारी दिए। धार्मिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन भइरहेको उनले बताए।
उनका अनुसार गाउँपालिकाले कृषि व्यवस्थापन र व्यवसायीकरणलाई प्राथमिकता दिएको छ भने धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षणमा पनि विशेष ध्यान दिइएको छ। बुढानीलकण्ठ नगरपालिकासँग सांस्कृतिक प्रवर्द्धनलगायत विभिन्न क्षेत्रमा सहकार्यको सम्भावना रहेको उनको भनाइ थियो।
अध्यक्ष अर्यालले स्थानीय संस्कृति संरक्षणका लागि गाउँपालिकाले वार्षिक चौँरी महोत्सव आयोजना गर्दै आएको, तामाङ समुदायका परम्परागत पोशाक निर्माणसम्बन्धी सीपमूलक तालिम सञ्चालन गरिरहेको तथा जलविद्युत् आयोजनाको व्यवस्थापन र उपयोगमा समेत उल्लेखनीय काम भइरहेको जानकारी दिए।
उपाध्यक्ष चमेली गुरुङले गाउँपालिकामा अधिकांश विवादहरू न्यायिक समितिमार्फत मेलमिलापको माध्यमबाट समाधान हुने गरेको बताउँदै औपचारिक उजुरीको संख्या न्यून रहेको जानकारी दिइन्।
कार्यक्रममा सहभागीहरूले यस्ता अनुभव आदान–प्रदान कार्यक्रमले सफल अभ्यासको विस्तार, सुशासन प्रवर्द्धन, संस्थागत क्षमता अभिवृद्धि तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए। दुवै स्थानीय तहका प्रतिनिधिहरूले आगामी दिनमा पनि सहकार्य र अनुभव साझेदारीलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।
धार्मिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदाले समृद्ध उत्तरगया गाउँपालिका रसुवा जिल्लाको दक्षिण–पूर्वी क्षेत्रमा अवस्थित छ। उत्तरगया धाम, त्रिशूली नदी क्षेत्र, प्राकृतिक सौन्दर्य तथा तामाङ समुदायको मौलिक संस्कृति यहाँका प्रमुख आकर्षण हुन्। कृषि, पशुपालन, पर्यटन र जलविद्युत् विकासका प्रशस्त सम्भावनाका कारण उत्तरगया गाउँपालिका जिल्लाको महत्वपूर्ण स्थानीय सरकारका रूपमा परिचित छ।


































