मेलम्ची । शिक्षा प्रणालीमा गुणात्मक सुधार ल्याउने उद्देश्यले मेलम्चीस्थित जया बहुमुखी क्याम्पस र शिलापोष्ट मिडिया नेटवर्कको संयुक्त पहलमा आयोजना गरिएको शैक्षिक छलफल कार्यक्रम बुधबार मेलम्चीको होटल रिभर साइड इनमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम विशेषगरी स्थानीय सरकार, शैक्षिक संस्था र सरोकारवालाबीच सहकार्यको नयाँ सम्भावनाको खाका कोर्ने उद्देश्यले केन्द्रित थियो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा पूर्व शिक्षा सचिव गोपिनाथ मैनालीले सहभागी जनप्रतिनिधिहरूलाई लक्षित गर्दै शिक्षा प्रणालीको गहिरो विश्लेषण र सुधारको सम्भावना सम्बन्धी विस्तृत प्रशिक्षण दिए । उनको सशक्त प्रस्तुति र अनुभवमा आधारित दृष्टिकोणले सहभागीहरूलाई नीतिगत तहमा सोच्न र व्यवहारिक समाधानहरूमा केन्द्रित हुन प्रेरित गरेको थियो।
मैनालीले आफ्नो सत्रमा नेपालका हालका शैक्षिक चुनौतीहरूको बहुआयामिक चित्र प्रस्तुत गर्दै भने, ‘हामीले केवल विद्यालय भवन वा पाठ्यक्रम निर्माणलाई मात्र शिक्षा सुधार मानेका छौँ, तर सुधार भनेको संरचना, दृष्टिकोण, नेतृत्व र सहभागिताको समष्टिगत प्रक्रिया हो।’
उनले स्थानीय तहका जनप्रतिनिधिहरूलाई प्रश्न गर्दै प्रेरित गरे, ‘के तपाईंहरू स्थानीय तहमा शिक्षा नीतिलाई केवल प्रशासनिक कार्य मानेर सीमित गर्दै हुनुहुन्छरु वा त्यो नीति व्यवहारमा लागू गर्ने, सामाजिक रुपान्तरणको माध्यम बनाउने, नेतृत्व उत्पादन गर्ने जिम्मेवारी पनि लिइरहनुभएको छ’
उनले विद्यालय व्यवस्थापन समितिको भूमिकादेखि लिएर शिक्षक छनोट, अभिभावकको संलग्नता, बालमैत्री संरचना, दक्षता–केन्द्रित पाठ्यक्रम निर्माण र प्रविधिको प्रयोग जस्ता विषयमा गहिरो छलफल गरे । मैनालीले प्रस्ट्याए कि शिक्षा सुधार केवल मन्त्रालय वा संघीय सरकारको जिम्मेवारी होइन, बरु स्थानीय तहको सक्रिय नेतृत्वले तल्लो तहदेखि नै आधार बलियो बनाउने हो भने दीर्घकालीन रूपान्तरण सम्भव छ। ‘शिक्षा सुधारको सफल नमूना तपाईँकै गाउँबाट सुरु हुन सक्छ। तर त्यसका लागि तपाईंले विद्यालयमा अनुशासन, दृष्टिकोण, सहभागिता र जवाफदेहिता भर्नु पर्छ,’ उनले जोड दिए।
कार्यक्रममा हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरू, शिक्षा शाखा प्रमुखहरू तथा प्रशासकीय अधिकृतसहित करिब ३० जना जनप्रतिनिधिहरूको सक्रिय सहभागिता थियो। उनीहरूले प्रशिक्षणका क्रममा मैनालीसँग स्थानीय तहमा भोगिएका समस्याहरू राख्दै समाधान खोज्ने व्यवहारिक सुझावहरू पनि पाएका थिए।
मेलम्ची नगरपालिकाका शिक्षा शाखा प्रमुख सुधिनराज बुढाथोकीले कार्यक्रमले शिक्षा नीतिमा स्थानीय तहको कार्यान्वयन भूमिका अझ स्पष्ट पारेको बताउँदै भने, ‘यस्तो बहुपक्षीय छलफलले शिक्षा क्षेत्रको समग्र चित्र बुझ्न सजिलो बनाउँछ र योजनाबद्ध कार्यान्वयनमा मद्दत गर्छ।‘
कार्यक्रमको उद्घाटन मन्तव्यमा जया बहुमुखी क्याम्पसका प्रमुख भवानी पौडेलले शिक्षा मात्र वितरण गर्ने संस्था बन्ने होइन, नेतृत्व उत्पादन गर्ने संस्थाको रूपमा क्याम्पसको पहिचान स्थापित गर्न चाहेको उल्लेख गरे । उनले भने, ‘हामी व्यवहारिक र उत्तरदायी शैक्षिक संरचना निर्माण गर्न चाहन्छौँ – जहाँ विद्यार्थी केवल पास भएर निस्कने होइनन्, समाज रूपान्तरण गर्ने भूमिका निर्वाह गर्न सक्षम बनून्।‘
पाँचपोखरी थाङपाल गाउँपालिकाकी उपप्रमुख सुनिता अधिकारीले जया क्याम्पसले आयोजना गरेको यस्तो समावेशी छलफलको प्रशंसा गर्दै भनिन्, ‘हामीले शिक्षा सुधारको खाका त कोरेका छौँ, तर यसमा मैनालीजस्ता विज्ञहरूबाट मार्गदर्शन पाउनु हामीलाई स्पष्ट दिशा दिन्छ।‘
हेलम्बु गाउँपालिका वडा नं. ६ का अध्यक्ष सन्छ बहादुर तामाङले भने, ‘शिक्षा सुधारमा स्थानीय तह, शिक्षक, अभिभावक र विद्यार्थी सबैको सहकार्य आवश्यक छ। यस्ता छलफलहरूले त्यो सहकार्यको आधार तयार गर्छ।‘
मेलम्ची वडा नं. ११ का अध्यक्ष चन्द्रबहादुर तामाङले भविष्यमा यस्ता कार्यक्रमहरूमा अझ बढी सहभागिता गराउने र शैक्षिक रणनीति बनाउने कामलाई तीव्रता दिने प्रतिबद्धता जनाए।
कार्यक्रमको समापन मन्तव्य राख्दै क्याम्पसका संस्थापक सदस्य तथा शिक्षाप्रेमी देवीप्रसाद घिमिरेले सहभागीताको प्रशंसा गर्दै विस्तृत धारणा राखे।
उनले भने, ‘शिक्षा सुधार भनेको कुनै एक व्यक्तिको प्रयत्नबाट सम्भव हुने कुरा होइन। यो सामूहिक उत्तरदायित्व र साझेदारीको अभ्यास हो। आजको छलफलले जनप्रतिनिधिहरूलाई केवल नीति कार्यान्वयनकर्ताको हैसियतमा होइन, शिक्षामा मार्गदर्शक, उत्प्रेरक र परिवर्तनको संवाहकको रूपमा उभिन सक्ने सम्भावनाको ढोका खोलिदिएको छ। स्थानीय तहमा जन्मिएका चुनौतीहरू समाधानको थालनी पनि स्थानीय तहबाटै हुनुपर्छ। त्यसका लागि जनप्रतिनिधिहरूले शिक्षा नीति बनाउने मात्र होइन, त्यसलाई विद्यालयको भित्री संरचनासम्म लैजाने, शिक्षण सिकाइको गुणस्तरमा सुधार ल्याउने, अभिभावक र समुदायलाई संलग्न गराउने र आफ्नै क्षेत्रको आवश्यकतालाई बुझेर दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने हुन्छ।‘
उनले स्थानीय उत्पादन र सीपमूलक शिक्षाबीचको सम्बन्धमा जोड दिँदै भने, ‘यदि हामीले आफ्ना युवालाई स्थानीय स्तरमै रोजगारी दिन सक्ने सीप दिइन सक्यौँ भने, तिनले प्रवासिनै पर्नु पर्दैन। त्यसैले शिक्षा केवल सर्टिफिकेटको आधारमा होइन, व्यवहार, उद्यम र सिर्जनात्मकतामा आधारित हुनुपर्छ। जया क्याम्पसले त्यो यात्राको थालनी गरिरहेको छ र हामी यसलाई निरन्तरताको यात्रामा रूपान्तरण गर्न प्रतिबद्ध छौँ।‘
कार्यक्रम आयोजक जया बहुमुखी क्याम्पस र शिलापोष्ट मिडिया नेटवर्कले यस्ता शैक्षिक छलफललाई निरन्तरता दिँदै स्थानीय-शैक्षिक सहकार्यको संस्कृति विकास गर्दै लैजाने प्रतिबद्धता जनाएका छन्।
मेलम्चीमा पहिलोपटक यसरी शिक्षा क्षेत्रमै केन्द्रित, नीतिगत सन्दर्भमा व्यापक जनप्रतिनिधि सहभागितासहित सम्पन्न भएको यो छलफलले समावेशी, उत्तरदायी र परिणाममुखी शिक्षा प्रणाली निर्माणतर्फ एक महत्त्वपूर्ण कदम चालेको विश्वास गरिएको छ। जया बहुमुखी क्याम्पसले यस पहलमार्फत मेलम्ची क्षेत्रमै होइन, देशभरका शैक्षिक संस्थाहरूका लागि पनि व्यवहारिक, समन्वयात्मक र नेतृत्व-मुखी शैक्षिक सुधारको नमूना प्रस्तुत गरेको छ ।































