सिन्धुपाल्चोक । मेलम्च-हेलम्बु हेडवार्क्स सडक विस्तार तथा कालोपत्रे कार्यका लागि सरकारद्वारा चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यस निर्णयसँगै हेलम्बु क्षेत्रका बासिन्दामा विकासप्रतिको आशा झन् बलियो बनेको छ ।
यस सडकको स्तरोन्नतिको लागि लामो समयदेखि पहल गर्दै आएका पुर्व मन्त्री शेरबहादुर तामाङले यो उपलब्धिलाई ‘दिर्घकालीन संघर्ष र प्रतिबद्धताको प्रतिफल’ भन्दै सरकारलाई धन्यवाद व्यक्त गरेका छन् । उनले भने, ‘२०७७ सालमै मेलम्ची–हेलम्बु सडकलाई कालोपत्रे गर्ने दृढ संकल्प लिइएको थियो। त्यसैअनुसार डिपिआर र ईआईए तयार पारेर २०७८ सालमा टेण्डर प्रक्रियामा लैजाने तयारी पूरा भएको थियो। करिब १ अर्ब बराबरको बजेट प्रस्ताव पनि गरिएको थियो । तर, दुर्भाग्यवश २०७८ साल असार १ गते आएको भीषण बाढीले सम्पूर्ण योजना भताभुङ्ग बनाइदियो। त्यो विपत्तिपछि पनि हामी निराश भएनौं । यो अभियानलाई निरन्तर अघि बढाइरह्यौं। आज सरकारले २५ करोड विनियोजन गरेर हाम्रो सपना साकार बनाएको छ।‘
तामाङका अनुसार हाल विनियोजित २५ करोड बजेट बहुवर्षीय योजनाको प्रारम्भिक चरणको रुपमा खर्च गरिनेछ । कार्यान्वयनको क्रममा आवश्यक परे थप बजेटसमेत विनियोजन गरिने जानकारी समेत दिएका छन् । यो आयोजनाले अन्ततः १ अर्बभन्दा बढीको लगानीमार्फत मेलम्ची-हेलम्बु सडकलाई स्तरीकरण गर्ने अपेक्षा गरिएको छ ।
सडक निर्माण तथा स्तरोन्नतिपछि मेलम्ची-हेलम्बु क्षेत्रको पर्यटन, कृषि, शिक्षा र स्थानीय व्यापारमा सकारात्मक प्रभाव पर्ने स्थानीयवासीहरू बताउँछन्। लामो समयदेखि विकासमा पछाडि पारिएको यो क्षेत्रको समग्र उन्नयनमा यो सडकको योगदान महत्वपूर्ण हुने विश्वास गरिएको छ।
पुर्व मन्त्री तामाङले मेलम्ची-हेलम्बुबासीहरूलाई शुभकामना दिँदै थप भने, ‘हाम्रो एकताको शक्ति र निरन्तर प्रयासले आज यो अभियान सार्थक भएको छ। यो केवल सडक मात्र होइन, हामी सबैको आशा र भविष्यसँग जोडिएको योजना हो।‘
यस ऐतिहासिक निर्णयका लागि मेलम्ची-हेलम्बुवासीहरूले सरकारलाई धन्यवाद व्यक्त गरेका छन् ।

































