विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालय (सुकुना मावि)मा अध्ययनरत छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा विद्यालयका दुई शिक्षक र एक जना सवारी चालकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। घटनापछि विद्यालयमा तनावपूर्ण अवस्था सिर्जना भएको छ भने विद्यार्थी, अभिभावक र स्थानीयवासीले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ पर्नेमा सुन्दरहरैँचा–१० निवासी ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैँचा–२ निवासी ३० वर्षीय किशोरलाल गच्छदार र सुन्दरहरैँचा–१२ निवासी ३५ वर्षीय अबिरल मास्के रहेका छन्। भट्टराई विद्यालयका सवारी चालक हुन् भने गच्छदार र मास्के शिक्षकका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूलाई सोमबार बिहान नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा विद्यालयका केही छात्रालाई मोबाइलमार्फत व्यक्तिगत सन्देश पठाउने, परीक्षामा उत्तीर्ण गराइदिने आश्वासन दिने तथा अमर्यादित व्यवहार गरेको भन्ने सूचना प्राप्त भएपछि अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार घटनामा छात्रामाथि यौनजन्य दुर्व्यवहारसमेत भएको हुनसक्ने आशंकालाई आधार बनाएर अनुसन्धानको दायरा विस्तार गरिएको छ। डीएसपी मिश्रले घटनाको वास्तविकता, आरोपको सत्यता तथा संलग्न व्यक्तिहरूको भूमिकाबारे निष्कर्ष विस्तृत अनुसन्धानपछि मात्रै आउने बताए।
उनले अनुसन्धानका क्रममा अन्य व्यक्तिको संलग्नता खुलेमा उनीहरूमाथि पनि प्रचलित कानुनअनुसार कारबाही गरिने स्पष्ट पारे। साथै सामाजिक सञ्जालमा अपुष्ट, भ्रामक वा अनुसन्धानलाई प्रभावित पार्ने सामग्री नफैलाउन सबैसँग आग्रह गर्दै सत्यतथ्य बाहिर ल्याउन सहयोग गर्न अनुरोध गरेका छन्।
यता, घटनाप्रति सुन्दरहरैँचा नगरपालिकाले गम्भीर चासो व्यक्त गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले विद्यालय व्यवस्थापनलाई पत्राचार गर्दै आरोपित शिक्षक तथा कर्मचारीलाई तत्काल निलम्बन गर्न, निष्पक्ष छानबिन गर्न तथा कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।
नगरपालिकाले दोषी ठहर हुने जो–कोहीलाई कानुनबमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्न र गरिएको कारबाहीको विवरण नगरपालिकामा उपलब्ध गराउन पनि विद्यालयलाई निर्देशन दिएको छ।
घटनापछि विद्यालय परिसरमा विद्यार्थी र अभिभावकको आक्रोश देखिएको छ। विद्यार्थीहरूले विरोध प्रदर्शनको तयारी गरेका छन् भने अभिभावकहरूले विद्यालयलाई सुरक्षित शैक्षिक वातावरण सुनिश्चित गर्न र दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्।
प्रहरीले घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रमाण संकलन, पीडित तथा सम्बन्धित पक्षसँग बयान लिने काम भइरहेको जनाएको छ। अनुसन्धान पूरा भएपछि तथ्यका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।



































