‘रिचार्ज काठमाडौं अभियान’लाई साझा पृथ्वीको नागरिकका रूपमा अघि बढाउँछौँ : कार्यवाहक मेयर डंगोल

‘रिचार्ज काठमाडौं अभियान’लाई साझा पृथ्वीको नागरिकका रूपमा अघि बढाउँछौँ : कार्यवाहक मेयर डंगोल

काठमाडौं, ७ मंसिर । काठमाडौं महानगरपालिकाले ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ को उद्घाटनसँगै ‘रिचार्ज काठमाडौं अभियान’ सुरु गरेको छ।

आइतबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा र काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले संयुक्त रूपमा अभियानको शुभारम्भ गर्नुभएको हो।

अभियान उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री श्रेष्ठ र मुख्यमन्त्री थापाले स्थानीय तहको पहलमा सुरु भएको यस अभियानमा संघीय तथा प्रदेश सरकारको सकारात्मक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा कार्यवाहक मेयर डंगोलले अब जलवायु परिवर्तनका असरबारे छलफल गरेर मात्र बस्ने समय नभएको भन्दै तत्काल कार्यान्वयनमा जानुपर्ने बताउनुभयो।

उहाँले काठमाडौं महानगरपालिकाभित्रका विद्यालयहरूमा वर्षाको पानी जमिनमुनि पुनर्भरण (रिचार्ज) गर्न सकिने सम्भावित स्थानहरूको अध्ययन भइसकेको जानकारी दिँदै सोहीअनुसार अभियान अघि बढाइने बताउनुभयो।

‘काठमाडौं महानगरपालिकाको कार्यवाहक मेयरको हैसियतमा मात्रै होइन, साझा पृथ्वीको एक नागरिकको हैसियतमा यो अभियानलाई व्यवहारमै अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु,’ डंगोलले भन्नुभयो।

उहाँले जलवायु परिवर्तनका कारण उत्पन्न विपद् र त्यसबाट हुने क्षति न्यूनीकरणका लागि सबै पक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो। महानगरपालिकाले विगतमा पनि विपद् प्रभावित क्षेत्रमा सक्दो सहयोग गर्दै आएको उहाँको भनाइ थियो।

कार्य सप्ताहकै अवसरमा विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूबीच जलवायु परिवर्तनका असर र स्थानीय समुदायले भोगिरहेका समस्याबारे अनुभव आदानप्रदान गरिएको थियो।

छलफलमा बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका, हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका, नागार्जुन, भक्तपुर, बूढानीलकण्ठ, चन्द्रागिरि तथा तराईको बारा जिल्लास्थित निजगढ नगरपालिकाका प्रमुख तथा प्रतिनिधिहरू सहभागी थिए।

काठमाडौं महानगरपालिकाका अनुसार ‘काठमाडौं जलवायु कार्य सप्ताह’ एक सातासम्म सञ्चालन हुनेछ। सप्ताहअन्तर्गत जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, वर्षाको पानी पुनर्भरण तथा वातावरण संरक्षणका क्षेत्रमा विभिन्न कार्यक्रम अघि बढाइनेछ।

Tokha