काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो भारत भ्रमणमा नेपाल र भारतबीच बढेको विश्वासको दूरी घटाउने विषयलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
भारतीय समाचार संस्था एएनआईसँग कुराकानी गर्दै ज्ञवालीले पछिल्लो समय नेपाल र भारतबीच आपसी विश्वासमा कमी आएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले त्यसलाई पुनःस्थापित गर्न पहल गर्नुपर्ने बताएका हुन् ।
गत वर्ष सेप्टेम्बरमा भएका घटनाक्रम, त्यसपछि नेपालमा सम्पन्न निर्वाचन र नयाँ सरकार गठनसँगै दुई देशबीच दूरी बढेको उनको भनाइ छ । यस्तो अवस्थामा प्रधानमन्त्रीको भारत भ्रमणले काठमाडौं र नयाँदिल्लीबीच विश्वासको वातावरण पुनःनिर्माण गर्न भूमिका खेल्नुपर्ने उनले बताए ।
‘गत सेप्टेम्बरका घटनाक्रम, त्यसपछि भएको निर्वाचन र नयाँ सरकार गठनसँगै दिल्ली र काठमाडौंबीच दूरी र विश्वासको संकट देखिएको छ । त्यसैले यी दुई महत्त्वपूर्ण छिमेकी तथा साझेदार राष्ट्रबीचको दूरी घटाउने र विश्वास पुनःस्थापित गर्ने विषयमा प्रधानमन्त्रीले ध्यान दिनुपर्छ,’ ज्ञवालीले भने ।
उनले प्रधानमन्त्री शाहले भ्रमणका क्रममा नेपालका चासो र सरोकारका विषय उठाउनुपर्ने पनि बताए । नेपाल र भारतबीच लामो समयदेखि समाधान हुन नसकेका सीमा विवाद तथा सन् १९५० को शान्ति तथा मैत्री सन्धिका केही प्रावधान पुनरावलोकन गर्नुपर्ने विषयलाई उनले प्रमुख मुद्दाका रूपमा उल्लेख गरे । त्यस्तै, नेपाली उत्पादनलाई भारतीय बजारमा सहज पहुँच दिलाउन विद्यमान व्यापार सम्झौता संशोधन गर्नुपर्ने उनको भनाइ छ ।
ज्ञवालीले दुई देशबीच आर्थिक सहकार्यको सम्भावना पनि पर्याप्त रहेको उल्लेख गरे । नेपाल र भारतले मूल्य श्रृङ्खला तथा आपूर्ति श्रृङ्खला विकासमा सहकार्य गर्न सके दुवै देश लाभान्वित हुने उनले बताए । पुराना विवाद समाधानसँगै सहकार्यका नयाँ क्षेत्र पहिचान गर्नुपर्नेमा पनि उनले जोड दिए ।
प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नोभेम्बर २२ देखि २३ सम्मको दुईदिने भारत भ्रमणमा छन् । गत मार्च २०२६ मा प्रधानमन्त्री बनेपछि उनको यो पहिलो भारत भ्रमण तथा पहिलो द्विपक्षीय विदेश भ्रमण हो ।
भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट गर्ने तथा प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्ष र साझा चासोका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल हुने बताइएको छ । एएनआई


































