काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्ला अल शम्सीबीच शिष्टाचार भेटवार्ता भएको छ।
सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा नेपाल–यूएई द्विपक्षीय सम्बन्ध, नेपाली श्रमिकको अवस्था, आपतकालीन राहत सहयोग, आर्थिक सहकार्य, लगानी तथा हवाई सम्पर्कलगायतका विषयमा छलफल भएको हो।
भेटका क्रममा उपराष्ट्रपति यादवले सन् १९७७ जनवरीमा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र यूएईबीच मित्रता, सहकार्य र आपसी विश्वासमा आधारित सम्बन्ध कायम रहँदै आएको बताउनुभयो। उहाँले सन् २०२७ मा मनाइने कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण जयन्तीलाई विशेष र स्मरणीय रूपमा मनाउने विश्वास व्यक्त गर्नुभयो।
यादवले रसुवा–भोटेकोशी क्षेत्रमा गएको विनाशकारी बाढीपछि यूएई सरकार तथा जनताले उपलब्ध गराएको आपतकालीन राहत र उद्धार सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। उक्त सहयोगले बाढी प्रभावित समुदायको राहत तथा उद्धारमा महत्वपूर्ण योगदान पुर्याएको उहाँको भनाइ थियो।
त्यसैगरी, यूएईमा करिब सात लाख नेपाली नागरिकले रोजगारीको अवसर पाएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले नेपालीका लागि थप उच्च आय र सीपयुक्त रोजगारीका अवसर सिर्जना गर्न आग्रह गर्नुभयो। यूएईको विकासमा नेपाली श्रमिकको योगदान महत्वपूर्ण रहेको पनि उहाँले बताउनुभयो।
आर्थिक सहकार्यका विषयमा चर्चा गर्दै उहाँले पूर्वाधार, कृषि, स्वास्थ्य, स्वच्छ ऊर्जा, पर्यटन, सूचना प्रविधि तथा कृत्रिम बौद्धिकतालगायतका क्षेत्रमा यूएईको लगानी र साझेदारीलाई नेपालले स्वागत गर्ने बताउनुभयो।
यस्तै, पोखरा–दुबई–पोखरा सिधा उडान सञ्चालनमा सहयोग पुर्याएकोमा फ्लाईदुबई तथा राजदूत शम्सीप्रति धन्यवाद व्यक्त गर्दै दुबई–भैरहवा–दुबई उडान पुनः सञ्चालनका लागि आवश्यक पहल गर्न आग्रह गर्नुभयो।
भेटमा यूएईका राजदूत शम्सीले नेपाल र यूएईबीचको सम्बन्ध घनिष्ठ रहेको उल्लेख गर्दै आगामी दिनमा यसलाई थप सुदृढ बनाउन आफ्नो देश इच्छुक रहेको बताउनुभयो।
उहाँले भोटेकोशी बाढी प्रभावित क्षेत्रलाई यूएईले उपलब्ध गराएको सहयोगलाई ‘एक भाइले अर्को भाइलाई गरेको सहयोग’ भन्दै भविष्यमा पनि मानवीय सहायता जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले एक करोड रुपैयाँबाहेक थप २५ लाख रुपैयाँ सहयोगको घोषणा भइसकेको जानकारीसमेत दिनुभयो।
यूएईको विकासमा नेपाली श्रमिकको योगदानको प्रशंसा गर्दै राजदूत शम्सीले नेपाली नागरिकलाई यूएईले सधैँ स्वागत गर्न तयार रहेको बताउनुभयो।
यसै अवसरमा उपराष्ट्रपति यादवले यूएईको ५५औँ राष्ट्रिय दिवसको शुभकामना व्यक्त गर्दै काठमाडौंमा आयोजना हुने राष्ट्रिय दिवस समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन प्राप्त निमन्त्रणा स्वीकार गर्नुभएको छ।
भेटवार्तामा दुवै पक्षले संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा पारस्परिक हितका विषयमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।


































