‘एआई इन जर्नलिज्म वर्कसप’ आयोजना हुँदै, क्यान महासंघ र फेजाबीच सहकार्य

‘एआई इन जर्नलिज्म वर्कसप’ आयोजना हुँदै, क्यान महासंघ र फेजाबीच सहकार्य

 

काठमाडौं । पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी प्रयोग, तथ्य परीक्षण तथा भ्रामक सूचना (मिसइन्फर्मेसन र डिसइन्फर्मेसन) नियन्त्रणका विषयमा केन्द्रित ‘एआई इन जर्नलिज्म वर्कसप’ आगामी जुलाई २६, २०२६ (साउन १०, २०८३) मा आयोजना हुने भएको छ।

 

कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) र महिला आर्थिक पत्रकार संघ (फेजा) को संयुक्त आयोजनामा हुने उक्त कार्यशाला बिहान १०ः०० बजेदेखि १२ः०० बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रमले नेपाली सञ्चार क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको सुरक्षित, जिम्मेवार र प्रभावकारी प्रयोगबारे पत्रकारहरूलाई व्यावहारिक ज्ञान तथा सीप प्रदान गर्ने लक्ष्य राखेको छ।

 

कार्यक्रममा न्युजरुममा प्रयोग भइरहेका विभिन्न एआई टुल्स, समाचार लेखन तथा सम्पादनमा एआईको उपयोग, तथ्य परीक्षण (फ्याक्ट–चेकिङ), डाटा विश्लेषण, सामग्री उत्पादन, उत्पादकत्व वृद्धि तथा एआईबाट सिर्जना हुन सक्ने भ्रामक सूचना पहिचान र नियन्त्रणका विषयमा विज्ञहरूले प्रशिक्षण दिनेछन्।

 

क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा सूचना प्रविधि क्षेत्रका अगुवा चिरञ्जीवी अधिकारीको नेतृत्व र अवधारणामा आयोजना हुन लागेको यो कार्यक्रमले सञ्चार क्षेत्रलाई डिजिटल रूपान्तरणतर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। अधिकारी वान कभर प्राइभेट लिमिटेडका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत हुन्।

 

कार्यक्रमलाई औपचारिक रूपमा अघि बढाउन क्यान महासंघ, फेजा, सनवे कलेज काठमाडौं र टेक ब्लगर्स एशोसिएशन अफ नेपाल (टिबान)बीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ।

 

सम्झौतापत्रमा क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारी, फेजाका अध्यक्ष शर्मिला ठकुरी, कार्यक्रमका एआई पार्टनर सनवे कलेज काठमाडौंका निर्देशक सिमोली देसाई तथा टेक ब्लगर्स एशोसिएशन अफ नेपाल (टिबान) का अध्यक्ष सन्तोष ढुङ्गानाले हस्ताक्षर गरेका छन्।

 

आयोजकका अनुसार कृत्रिम बुद्धिमत्ताको तीव्र विकाससँगै पत्रकारितामा नयाँ अवसर र चुनौती दुवै सिर्जना भइरहेका बेला पत्रकारहरूलाई आधुनिक प्रविधिसँग परिचित गराउँदै जिम्मेवार प्रयोगका लागि आवश्यक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको हो। कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार, सम्पादक, सञ्चारकर्मी तथा डिजिटल मिडियामा आबद्ध व्यक्तिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

Tokha