काठमाडौं । श्री शान्तेश्वर महादेव मन्दिर परिसरमा नवनिर्मित चौसठ्ठी शिवलिङ्गको प्राण प्रतिष्ठा तथा मन्दिर निर्माणमा सहयोग पुर्याउने चन्दादाताहरूलाई सम्मान गर्ने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
श्री शान्तेश्वर महादेव मन्दिर परिवारको आयोजनामा सम्पन्न कार्यक्रम धार्मिक विधिअनुसार कलश यात्राबाट सुरु भएको थियो। त्यसपछि वैदिक मन्त्रोच्चारणसहित विशेष पूजा–आराधना गरी चौसठ्ठी शिवलिङ्गको प्राण प्रतिष्ठा गरिएको थियो।
औपचारिक समारोहमा मन्दिर निर्माणमा योगदान पुर्याउने चन्दादाताहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सुशीला अधिकारी ले धर्म, संस्कार र संस्कृति नेपाली समाजको मौलिक पहिचान भएको उल्लेख गर्दै यस्ता धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सबैको साझा दायित्व रहेको बताउनुभयो। उहाँले चौसठ्ठी शिवलिङ्गको स्थापना केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई भावी पुस्तामा सभ्यता, संस्कार र सांस्कृतिक चेतना हस्तान्तरण गर्ने महत्वपूर्ण अभियान भएको उल्लेख गर्नुभयो। साथै नगरपालिकाले यस्ता धार्मिक तथा सांस्कृतिक गतिविधिलाई निरन्तर प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा सन्तोष बुढाथोकी ले धार्मिक सम्पदाको संरक्षणले समाजमा सद्भाव, नैतिकता र सामाजिक एकता सुदृढ बनाउने धारणा व्यक्त गर्नुभयो। उहाँले आस्था र संस्कृतिको संरक्षणमा स्थानीय समुदायको सक्रिय सहभागिता अनुकरणीय रहेको बताउनुभयो।
वडा नं. ७ का अध्यक्ष शैलेन्द्र लामा ले शान्तेश्वर महादेव मन्दिर परिसरलाई धार्मिक पर्यटन तथा आध्यात्मिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित आगामी दिनमा आवश्यक सहयोगलाई निरन्तरता दिइने बताउनुभयो।
त्यस्तै वडा नं. ८ का अध्यक्ष सूरज पोखरेल ले धर्म, संस्कृति र सामाजिक सद्भावलाई बलियो बनाउने यस्ता कार्यक्रमले समुदायबीच एकता र सहकार्यको भावना थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।
श्री शान्तेश्वर महादेव मन्दिर परिवारका अध्यक्ष रविन्द्रराज दाहाल ले चौसठ्ठी शिवलिङ्ग निर्माणमा सहयोग पुर्याउने सम्पूर्ण चन्दादाता, भक्तजन तथा सहयोगीप्रति आभार व्यक्त गर्दै सबैको साथ र सहयोगकै कारण यो पवित्र कार्य सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो।
वडा सदस्य, गुरुवर्ग, सामाजिक तथा बौद्धिक व्यक्तित्व, चन्दादाता, भक्तजन र स्थानीयवासीको उल्लेख्य उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमले धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक संरक्षणप्रति समुदायको सामूहिक प्रतिबद्धता थप मजबुत बनाएको आयोजकले जनाएको छ।



































