एडिबी अध्यक्षसँग प्रधानमन्त्री बालेन शाहको भेट : सुशासन, रोजगारी र आर्थिक वृद्धिमा जोड

एडिबी अध्यक्षसँग प्रधानमन्त्री बालेन शाहको भेट : सुशासन, रोजगारी र आर्थिक वृद्धिमा जोड

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सृजना तथा नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउनु रहेको बताएका छन्।

आज Asian Development Bank (एडिबी) का अध्यक्ष Masato Kanda सँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले सार्वजनिक लगानीको प्रभावकारिता बढाउने, निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि प्रवर्द्धन गर्ने, ऊर्जा विकासलाई तीव्रता दिने तथा पूर्वाधारको आधुनिकीकरण र डिजिटल रूपान्तरणलाई अगाडि बढाउने सरकारको योजनाबारे जानकारी गराएका हुन्।

प्रधानमन्त्री शाहले स्थिर नीतिगत वातावरण र सुदृढ संस्थागत संरचनाले लगानी आकर्षित गर्न तथा दिगो र समावेशी विकास हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। भेटवार्तामा नेपाल–एडिबी साझेदारीलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिएकी छन्।

भेटमा नेपालमा जलविद्युत्को विशाल सम्भावना रहेको उल्लेख गर्दै एडिबीको ऊर्जा रणनीतिअन्तर्गत स्वच्छ ऊर्जा उत्पादनमा साझेदारी विस्तार गर्ने विषयमा समेत चर्चा भएको थियो। प्रधानमन्त्री शाहले एडिबीको सहयोगमा निर्माणाधीन दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना नेपाल सरकारको प्राथमिकता प्राप्त आयोजना भएको उल्लेख गर्दै यसको वित्तीय व्यवस्थापन प्रक्रिया यथाशीघ्र अगाडि बढाउन आग्रह गरे।

छलफलका क्रममा एडिबीको ‘कन्ट्री पार्टनरसिप स्ट्राटेजी’ अन्तर्गत ऊर्जा, कनेक्टिभिटी, सहरी विकास तथा डिजिटल पूर्वाधारका क्षेत्रमा थप सहकार्य गर्ने विषयमा पनि सहमति जुटाइएको छ।

प्रधानमन्त्री शाहले पाँच दशकभन्दा बढी समयदेखि नेपालको विकास यात्रामा एडिबीले पुर्‍याएको सहयोगप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरेका छन्।

हाल नेपालमा एडिबीको सक्रिय खुद ‘पोर्टफोलियो’ करिब ४ अर्ब २० करोड अमेरिकी डलर बराबर रहेको छ, जसअन्तर्गत ३१ वटा परियोजना सञ्चालनमा छन्। साथै, ‘पोलिसी बेस्ड लेन्डिङ’ अन्तर्गत सन् २०२६ मा १५ करोड अमेरिकी डलरको सहायता कार्यक्रम रहेको छ।

भेटवार्तामा खानेपानी, सरसफाइ, सहरी पूर्वाधार विकास, युवा रोजगारी, विपद् जोखिम व्यवस्थापन, डिजिटल सुशासन र विकास सहकार्यका प्राथमिकताका क्षेत्रबारे पनि विस्तृत छलफल भएको थियो।

एडिबी अध्यक्ष कान्डाले नेपाललाई प्रदान गरिने सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै नेपालको डिजिटल अर्थतन्त्र आर्थिक वृद्धि र रोजगारीको नयाँ आधारका रूपमा विकास भइरहेकोमा सन्तोष व्यक्त गरे। उनले डिजिटल पूर्वाधार तथा डिजिटल सार्वजनिक पूर्वाधार सुदृढीकरणमा एडिबीको सहयोग निरन्तर रहने प्रतिबद्धता समेत जनाए।

Tokha