खरिपाटी होल्डिङ सेन्टरमा खाना नपाएपछि सुकुमवासीको विरोध, राहतभन्दा पुनर्स्थापनामा जोड

खरिपाटी होल्डिङ सेन्टरमा खाना नपाएपछि सुकुमवासीको विरोध, राहतभन्दा पुनर्स्थापनामा जोड

काठमाडौं । खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा आश्रय लिइरहेका सुकुमवासीहरूले खाना उपलब्ध नगराएको भन्दै विरोध प्रदर्शन गरेका छन्। उनीहरूका अनुसार सोमबार साँझदेखि खाद्यान्न वितरण रोकिएपछि रातभर भोकै बस्नुपरेको हो।

होल्डिङ सेन्टरमा रहेका एक सुकुमवासीले सरकारले बस्न दिएको अवधिसम्म पनि आधारभूत आवश्यकताबाट वञ्चित बनाएको गुनासो गरे। उनका अनुसार बालबालिका, ज्येष्ठ नागरिक र बिरामीहरू सबैभन्दा बढी समस्यामा परेका छन्। कतिपयले औषधिसमेत खान नपाएको उनीहरूको भनाइ छ।

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका उपाध्यक्ष पवन गुरुङले सोमबार बिहानसम्म खाना उपलब्ध भए पनि त्यसपछि वितरण बन्द भएको बताए। उनले आफूहरू अहिले बसोबासको विकल्प खोज्न बाध्य भएको उल्लेख गरे।

सरकारले गत वैशाखमा बागमती र मनोहरा नदी किनारका बस्ती हटाएर प्रभावित परिवारलाई विभिन्न होल्डिङ सेन्टरमा राखेको थियो। खरिपाटी होल्डिङ सेन्टरमा हाल ९९ परिवारका २०७ जना बसोबास गरिरहेका छन्।

सुकुमवासीहरूले विरोध सुरु गरेपछि त्यहाँ सुरक्षाकर्मी परिचालन गरिएको छ। यसअघि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले असार २४ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो।

यता, कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी परिवारले सरकारले घोषणा गरेको राहतका लागि निवेदन नदिने घोषणा गरेका छन्।

संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले राहत रकमभन्दा सम्मानजनक पुनर्स्थापनाको व्यवस्था आवश्यक रहेको बताएका छन्। वैकल्पिक आवासको सुनिश्चितता नगरी केही रकम उपलब्ध गराउनु समस्याको दीर्घकालीन समाधान हुन नसक्ने उनीहरूको तर्क छ।

‘हामीले खोजेको राहत होइन, राज्यले भत्काएको हाम्रो बासको सम्मानजनक व्यवस्थापन हो,’ विज्ञप्तिमा उल्लेख छ।

प्रभावित परिवारले राहतको सट्टा सम्मानजनक वैकल्पिक आवासको व्यवस्था गर्न, सबै प्रभावित परिवारसँग वार्ता गरी दीर्घकालीन पुनर्स्थापनाको योजना लागू गर्न तथा राहतका लागि निवेदन नदिएको आधारमा कुनै पनि प्रकारको विभेद वा दबाब सिर्जना नगर्न सरकारसँग माग गरेका छन्।

उनीहरूले दिगो पुनर्स्थापनाको व्यवस्था नभएसम्म होल्डिङ सेन्टरमै बसिरहने र आफ्नो अधिकार, सम्मान तथा न्यायपूर्ण पुनर्स्थापनाका लागि शान्तिपूर्ण संघर्ष जारी राख्ने चेतावनी दिएका छन्।

Tokha