तस्करीविरुद्ध एसपी बोहोराको कमाण्डमा ‘क्लीन स्वीप’, मकवानपुरमा ८५ चौपायासहित ६ सवारी साधन जफत

तस्करीविरुद्ध एसपी बोहोराको कमाण्डमा ‘क्लीन स्वीप’, मकवानपुरमा ८५ चौपायासहित ६ सवारी साधन जफत

मकवानपुर । मकवानपुर जिल्ला प्रहरी कार्यालयले गाई-गोरु तस्करीविरुद्ध सञ्चालन गरेको विशेष अभियानबाट उल्लेखनीय सफलता हात पारेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (एसपी) सुवासचन्द्र बोहोराको कमाण्डमा जेन्जी आन्दोलनपश्चात् पछिल्लो तीन महिनाको अवधिमा अवैध रूपमा ओसारपसार गरिँदै आएका ८५ वटा चौपाया गाई-गोरु नियन्त्रणमा लिइएका छन् ।

प्रहरीका अनुसार यस अवधिमा ६ वटा सवारी साधन र १० जना व्यक्तिलाई समेत नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयबाट खटिएका प्रहरी टोलीले विभिन्न स्थानमा सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा अवैध रूपमा ल्याइएका गाई-गोरुसहित व्यक्ति र सवारी साधन नियन्त्रणमा लिएको हो ।

प्रहरी अभिलेखअनुसार पहिलो कारबाही २०८२ साल असोज ३० गते गरिएको थियो। उक्त दिन ७ वटा गाई-गोरु, १ वटा सवारी साधन र ३ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो। त्यसपछि कात्तिक १३ गते २५ वटा गाई–गोरु, १ वटा सवारी साधन र १ जना व्यक्ति नियन्त्रणमा परेका थिए। कात्तिक १९ गते पुनः २२ वटा गाई-गोरु, १ वटा सवारी साधन र ३ जना व्यक्तिलाई नियन्त्रणमा लिइयो ।

यसैगरी पुस १३ गते ५ वटा गाई-गोरु, १ वटा सवारी साधन र १ जना व्यक्ति, पुस १४ गते फेरि ५ वटा गाई-गोरु, १ वटा सवारी साधन र १ जना व्यक्ति तथा पुस १७ गते २१ वटा गाई–गोरु, १ वटा सवारी साधन र १ जना व्यक्ति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार माथि उल्लेखित ६ वटा कारबाहीमध्ये पहिलो, दोस्रो र तेस्रो घटनामा तीनवटा मुद्दा दर्ता गरिएको छ । बाँकी घटनामा संलग्न व्यक्तिहरूलाई प्रचलित कानुनअनुसार जरिवाना स्वरूप कारबाही गरिएको छ । नियन्त्रणमा लिइएका गाई–गोरुलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पशु सेवा कार्यालय, हेटौंडा पठाइएको प्रहरीले जनाएको छ ।

यसअघि आर्थिक वर्ष २०८०/८१ मा एक वर्षको अवधिमा गाई-गोरु तस्करीसम्बन्धी जम्मा दुईवटा मात्र मुद्दा दर्ता भएको थियो। त्यस समयमा १५ वटा गाई, २२ वटा गोरु, पाँच जना व्यक्ति र दुईवटा सवारी साधन नियन्त्रणमा लिइएको तथ्यांक प्रहरीसँग छ। तर एसपी सुवासचन्द्र बोहोराले जिम्मेवारी सम्हालेयता मकवानपुरमा गाई-गोरु तस्करी नियन्त्रणमा उल्लेखनीय सुधार देखिएको प्रहरीको भनाइ छ।

एसपी बोहोराले गाई-गोरु तस्करीलाई गम्भीर र संवेदनशील अपराधको रूपमा लिँदै नियन्त्रणका लागि प्रहरी निरन्तर सक्रिय रहेको बताएका छन्। उनका अनुसार नेपालबाट भारत हुँदै बङ्गलादेशतर्फ गाई-गोरु तस्करी हुने क्रम लामो समयदेखि रहँदै आएको भए पनि पछिल्लो समय निगरानी कडा पारिँदा तस्करहरू नियन्त्रणमा पर्न थालेका छन्।

मकवानपुर जिल्ला प्रहरी कार्यालयले गाई-गोरु तस्करीविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै आगामी दिनमा अझ प्रभावकारी निगरानी, नियमित चेकजाँच र कडा कानुनी कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

Tokha