बारा जिल्ला प्रशासनद्वारा कर्फ्यू आदेश जारी

बारा जिल्ला प्रशासनद्वारा कर्फ्यू आदेश जारी

बारा । बाराको सिमरामा बुधबार अपराह्न उत्पन्न तनावपूर्ण अवस्थालाई नियन्त्रणमा राख्न जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गरेको छ । स्थानीय प्रशासनले जारी गरेको आदेशअनुसार दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्म कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन वा सामूहिक गतिविधि गर्न प्रतिबन्ध लगाइएको छ ।

कर्फ्यूको क्षेत्र गण्डक नहरदेखि पथलैया सडकखण्डसम्म दायाँ-बायाँ ५०० मिटर क्षेत्र र सिमरा विमानस्थल वरपर ५०० मिटर परिधिमा लागू हुने प्रशासनले जनाएको छ ।

एमाले नेता महेश बस्नेत सिमरा पुग्ने जानकारी सार्वजनिक भएपछि जेनजी युवाहरुले सिमरा विमानस्थलमा विरोध प्रदर्शन थालेका थिए । सो क्रममा युवा संघका कार्यकर्तासँग उनको भनाभन भएपछि स्थिति थप तनावपूर्ण बनेको थियो ।

विरोध कार्यक्रम चलिरहेका बेला जेनजी समूह र सुरक्षाकर्मीबीच झडप समेत भयो, जसले गर्दा वातावरण एकाएक अस्थिर बनेको जिल्ला प्रशासनले जनाएको छ ।

झडपपछि सुरक्षाको संवेदनशीलता बढेको भन्दै स्थानीय प्रशासनले कर्फ्यू लगाई परिस्थिति नियन्त्रणमा लिन कदम चालेको हो ।

Tokha