काठमाडौं महानगरले कात्तिक मसान्तसम्म संलकन गर्यो ३ अर्ब २२ करोड भन्दा धेरै राजस्व

काठमाडौं महानगरले कात्तिक मसान्तसम्म संलकन गर्यो ३ अर्ब २२ करोड भन्दा धेरै राजस्व

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक मसान्तसम्म काठमाडौं महानगरपालिकाले ३ अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपैयाँ राजस्व संकलन गरेको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ करोड ६५ लाख १० हजार ४९२ रुपैयाँ बढी हो । गत वर्ष सोही अवधिमा ३ अर्ब १६ करोड ७६ लाख १४ हजार ६५७ रुपैयाँ संकलन भएको थियो ।

महानगरले यस वर्ष १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ, जुन गत वर्षको १२ अर्ब ९० करोड ६३ लाख २५ हजारको लक्ष्यभन्दा बढी हो ।

यद्यपि कात्तिक मसान्तसम्म आन्तरिक राजस्व शीर्षकमा संकलन भएको १ अर्ब ९६ करोड ८१ लाख ७५ हजार ७ सय रुपैयाँ गत वर्षको १ अर्ब ९९ करोड २ लाख ६७ हजार ६९५ रुपैयाँभन्दा २ करोड २० लाख ९१ हजार ९९५ रुपैयाँ कम छ । आन्तरिक राजस्वमा आएको गिरावटको मुख्य कारण सम्पत्ति कर घट्नु रहेको महानगरले बताएको छ ।

गत वर्ष पहिलो चौमासिकमा ५० करोड ३१ लाख ३ हजार ७३८ रुपैयाँ संकलन भएको सम्पत्ति कर यो वर्ष ४२ करोड ७६ लाख ५४ हजार २७६ रुपैयाँमा झरेको छ ।

दर परिवर्तन र करदाताको गुनासोका कारण गरिएको समायोजनले राजस्व घटेको राजस्व विभाग प्रमुख दीपक अधिकारीले स्पष्ट पारे ।

त्यस्तै, बहाल कर भने उल्लेखनीय रूपमा बढेको छ । गत वर्ष ९४ करोड ८५ लाख २८ हजार १५४ रुपैयाँ संकलन भए पनि यो वर्ष सो रकम बढेर १ अर्ब २ करोड ९२ लाख ९७ हजार ५७० रुपैयाँ पुगेको छ ।

२०८२ जेठ २० मा सर्वोच्च अदालतको संवैधानिक इजलासले बहाल कर स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने फैसला गरेपछि कर महानगरमै जम्मा हुन थालेको अधिकारीले बताए ।

यस वर्ष व्यवसाय कर पनि वृद्धि भएको छ । गत वर्ष २२ करोड ८७ लाख ८ हजार ७०८ रुपैयाँ संकलन भएको व्यवसाय कर यो वर्ष २३ करोड ३२ लाख ३६ हजार १७० रुपैयाँ पुगेको छ ।

तर भवन नक्सा शुल्क शीर्षकबाट राजस्व भने घटेको छ। गत वर्ष १२ करोड ६ लाख ६६ हजार ६४९ रुपैयाँ उठेको नक्सा शुल्क यस वर्ष घटेर ८ करोड ८८ लाख ६ हजार ८८१ रुपैयाँमा सीमित भएको छ। सहरमा भवन निर्माणको दर घटेकाले नक्सा शुल्कबाटको आम्दानी कम भएको महानगरले जनाएको छ ।

Tokha