काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर बिसर्जनमा अवरोध भएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरबाट निस्कने फोहरमैला अस्थायी रूपमा घर वा कम्पाउण्डभित्रै सुरक्षित राख्न आग्रह गरेको छ ।
महानगरले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै अर्को सूचना नआएसम्म फोहर सडक, सार्वजनिक स्थल वा खोलाखोल्सामा फ्याँक्न नहुने चेतावनी दिएको छ ।
फोहर व्यवस्थापनमा अवरोध भएकाले तत्काल संकलन र बिसर्जन कार्य रोकिएको महानगरले जनाएको छ । साथै, नागरिकलाई दुर्गन्ध र सरसफाइमा समस्या नहोस् भन्ने उद्देश्यले जैविक र अजैविक फोहर छुट्याएर बन्द डब्बामा राख्न अनुरोध गरिएको छ ।
बञ्चरेडाँडामा स्थानियवासीको विरोधका कारण पछिल्ला दिनमा फोहर ढुवानीमा समस्या आइरहेको छ । महानगरले समस्या समाधानका लागि संघीय र प्रदेश सरकारसँग निरन्तर समन्वय भइरहेको बताएको छ ।

































