काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा सरकारले ५० अर्ब ६० करोड बराबरको नयाँ ऋण थपेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारी कुल ऋण २७ खर्ब २४ अर्ब ६५ करोड पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४४.६१ प्रतिशत बराबर हो ।
असोज मसान्तसम्म वैदेशिक ऋणको हिस्सा ५३.०९ प्रतिशत (१४ खर्ब ४६ अर्ब ५८ करोड) र आन्तरिक ऋणको हिस्सा ४६.९१ प्रतिशत (१२ खर्ब ७८ अर्ब सात करोड) रहेको छ ।
सरकारले चालु आर्थिक वर्षमा पाँच खर्ब ९५ अर्ब बराबर ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । पहिलो त्रैमासमा एक खर्ब ८४ करोड ऋण प्राप्त भइसकेको छ । यस अवधिमा ऋण सेवा खर्च एक खर्ब नौ अर्ब ८९ करोड पुगेको छ, जुन कुल विनियोजनको २६.७४ प्रतिशत हो ।

































