पत्रकार महासंघ मधेश प्रदेशको भवन निर्माणमा बारको अवरोध, वकिल र पत्रकारबीच झडप

पत्रकार महासंघ मधेश प्रदेशको भवन निर्माणमा बारको अवरोध, वकिल र पत्रकारबीच झडप

धनुषा । जनकपुरधाममा निर्माण हुन लागेको पत्रकार महासंघ मधेश प्रदेशको भवन निर्माणमा बार एशोसिएसन जनकपुरले अवरोध गरेको छ ।

केन्द्रिय गुठी संस्थानसँग सम्झौता गरेर जनकपुरधाम उपमहानगरपालिका-४ स्थित भूतनाथ मन्दिरको दक्षिणपट्टि चार कठ्ठा जग्गामा निर्माण कार्य सुरु गर्न लागेपछि बार एसोसिएसनले सो जग्गा आफ्नो पार्किङ स्थल रहेको दाबी गर्दै कार्य रोक्न खोजेका हुन् ।

महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले सो जग्गा कानुनी प्रक्रिया पूरा गरी गुठी संस्थानसँग सम्झौता गरेर निर्माण सुरु गरेको बताएका छन् । तर बार एसोसिएसनले उक्त जग्गा पार्किङका लागि प्रयोग हुँदै आएको र कुनै हालतमा पत्रकार महासंघलाई प्रयोग गर्न नदिने अडान लिएको छ ।

विवादको क्रममा वकिल र पत्रकारबीच सामान्य झडपसमेत भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । झडपको क्रममा पत्रकारहरूले वकिलको कोट च्यातेको आरोप वकिलहरूले लगाएका छन् भने, वकिलहरूले अध्यक्ष बन्जारा साथै महिला पत्रकार ज्योति झामाथि हातपात गरेको आरोप पत्रकार महासंघले लगाएको छ ।

झडप बढ्न नदिन प्रहरीले महासंघका अध्यक्ष श्याम बन्जारालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेको छ ।

Tokha