काठमाडौं / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योगी–व्यवसायीलाई ढुक्क भएर लगानी विस्तार गर्न आग्रह गरेका छन्।
अर्थ मन्त्रालयले बजेट कार्यान्वयनसम्बन्धी छलफल शृङ्खलाअन्तर्गत आयोजित पहिलो कार्यक्रममा उनले सरकारले निजी क्षेत्रलाई आवश्यक कानुनी तथा व्यावहारिक सहजीकरण गर्ने र लगानीको सुरक्षाको जिम्मेवारी लिने प्रतिबद्धता व्यक्त गरे।
उनले लगानी विस्तार, रोजगारी सिर्जना र उत्पादनशील अर्थतन्त्रको विकासका लागि सरकार–निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए। बजेटमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने सुधारका प्रयास गरिएको उल्लेख गर्दै बाँकी नीतिगत समस्या पनि स्पष्ट रूपमा उठाउन उद्योगी–व्यवसायीलाई आग्रह गरे।
छलफलका क्रममा उठेका अन्तःशुल्क, भन्सार महसुल, निर्यात अनुदान तथा बैंकिङ क्षेत्रसँग सम्बन्धित समस्याहरू समाधान गर्न संयन्त्र बनाएर काम गरिने पनि अर्थमन्त्री वाग्लेले बताए।



































