त्रिवि क्रिकेट मैदान सम्झौता नवीकरणका लागि क्यानले राखेपलाई पत्र पठायो

त्रिवि क्रिकेट मैदान सम्झौता नवीकरणका लागि क्यानले राखेपलाई पत्र पठायो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको प्रयोगसम्बन्धी सम्झौता नवीकरणका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पत्र पठाएको छ।

त्रिविसँगको २५ वर्षे सम्झौता अवधि समाप्त हुन लागेसँगै क्यानले सम्झौता थपका लागि राखेप र युवा तथा खेलकुद मन्त्रालयमा औपचारिक पत्राचार गरेको हो।

राखेप सदस्य–सचिव रामचरित्र मेहताका अनुसार क्यानको पत्र प्राप्त भएको छ र आवश्यक छलफलपछि आगामी प्रक्रिया अघि बढाइनेछ। मन्त्रालयले पनि राखेपमार्फत प्राप्त पत्रअनुसार नै निर्णय प्रक्रिया अघि बढाइने जनाएको छ।

क्यानले २०५९ सालमा राखेपमार्फत त्रिविसँग सम्झौता गरी मैदान प्रयोग गर्दै आएको हो। तर पछिल्लो समय त्रिविले आफ्नै स्वामित्वको जग्गा अतिक्रमण भएको भन्दै क्यानसहित १८ निकायलाई ३५ दिने अल्टिमेटम दिएको थियो।

यता युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भने त्रिवि क्रिकेट मैदान र क्यानबीच सम्झौता पुनः नवीकरण हुने संकेत गर्दै आएका छन्।

Tokha