काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, पाँचौं जितसँगै शीर्ष स्थानमा

काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, पाँचौं जितसँगै शीर्ष स्थानमा

काठमाडौं । सुदूरपश्चिम रोयल्स राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ। आज सम्पन्न खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

पाँचौं जित दर्ता गरेको सुदूरपश्चिम १० अंकसहित अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पराजित काठमाडौंको भने ८ अंक रहेको छ। काठमाडौंको एक खेल बाँकी रहेकाले प्लेअफमा पुग्ने सम्भावना कायमै छ।

सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौं गोर्खाजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११८ रन मात्रै बनाउन सक्यो। काठमाडौंका रासिद खानले सर्वाधिक ३५ तथा दुसान हेमान्थाले २१ रन बनाए।

सुदूरपश्चिमका अनिल खरेलले दुई विकेट लिए।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन बनाएको थियो।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६० रनको अर्धशतकीय पारी खेले। त्यस्तै आरिफ शेखले २१ र थरिन्दु रत्नायकेले २६ रनको योगदान गरे।

सुरुवातमै धर्मराएको सुदूरपश्चिमले ८ रन जोड्दा चार विकेट गुमाएको थियो। त्यसपछि कप्तान ऐरी र आरिफ शेखले पारी सम्हाल्दै ५४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।

काठमाडौंका जहानदाद खानले तीन तथा सन्तोष यादवले दुई विकेट लिए।

आजै साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।

Tokha