काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन आह्वान गरेको छ।
नगर कार्यपालिकाको कार्यालय, हात्तीगौंडा, काठमाडौंले सूचना जारी गर्दै नगरभित्र स्थायी बसोबास गर्दै आएका अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुन आग्रह गरेको हो। आर्थिक वर्ष २०८०८१ को स्वीकृत कार्यक्रम तथा नगर कार्यपालिकाको निर्णयअनुसार यो योजना कार्यान्वयनमा ल्याइएको जनाइएको छ।
नगरपालिकाका अनुसार १८ वर्ष पूरा भई ५० वर्ष ननाघेका अनौपचारिक क्षेत्रका श्रमिकलाई लक्षित गर्दै प्रत्येक वडाबाट सीमित संख्यामा सहभागी गराइनेछ। इच्छुक श्रमिकले सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र आवश्यक कागजातसहित श्रम डेस्कमा निवेदन दिनुपर्नेछ।
आवेदनका लागि निवेदकको मोबाइल नम्बर उल्लेख गरिएको निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको सिफारिस, पासपोर्ट साइज फोटो तथा बैंक खाता विवरण अनिवार्य गरिएको छ। साथै, स्वयंले मासिक रूपमा योगदान गर्न तयार रहेको स्वघोषणा पत्र समेत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
नगरपालिकाले यस कार्यक्रममार्फत अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याई उनीहरूको जीवनस्तर सुधार गर्ने लक्ष्य राखेको जनाएको छ।

































