एनपीएलले खोल्दैछ नेपाललाई खेल पर्यटनको ‘हब’ बनाउने ढोका

एनपीएलले खोल्दैछ नेपाललाई खेल पर्यटनको ‘हब’ बनाउने ढोका

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपाललाई अन्तर्राष्ट्रिय खेल पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने सम्भावना बढाएको अग्रज खेल पत्रकारहरूले बताएका छन्।

सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरूले एनपीएलले अन्तर्राष्ट्रिय खेलाडी तथा खेल व्यवस्थापनसँग सम्बन्धित व्यक्तिहरूलाई नेपाल भित्र्याउनुका साथै विश्वस्तरमा नेपालको पर्यटन प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको बताएका हुन्।

प्राकृतिक सौन्दर्य, हिमाल, धार्मिक तथा सांस्कृतिक सम्पदा र साहसिक पर्यटनका लागि परिचित नेपाललाई क्रिकेटमार्फत अन्तर्राष्ट्रिय स्तरमा थप चिनाउन सकिने उनीहरूको भनाइ छ। एनपीएलमा सहभागी हुन आउने विदेशी खेलाडीहरूले नेपालका पर्यटकीय स्थल भ्रमण गरी सामाजिक सञ्जालमार्फत तस्बिर तथा अनुभव साझा गर्दा नेपालको प्रचार विश्वभर पुग्ने सम्भावना बढेको छ।

अग्रज खेल पत्रकार मुकुन्द दाहालले एनपीएलले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनुका साथै खेल पर्यटन विकासको आधार तयार गरिरहेको बताए। पाकिस्तान र भारतले क्रिकेटमार्फत हासिल गरेको उचाइबाट नेपालले पनि प्रेरणा लिन सक्ने उनको भनाइ छ।

त्यस्तै, खेल पत्रकार निरञ्जन राजवंशीले विदेशी खेलाडीहरूको नेपाल भ्रमण र सामाजिक सञ्जालमा हुने प्रचारले पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पारिरहेको बताए। उनले यसअघि क्रिकेटर शिखर धवनको नेपाल भ्रमण र सामाजिक सञ्जालमा सार्वजनिक भएका सामग्रीले समेत नेपालको प्रचारमा योगदान पुर्‍याएको उल्लेख गरे।

अर्का खेल पत्रकार प्रकाश तिम्सिनाले नेपालमा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट मैदान तथा एकेडेमीको विकासले खेल पर्यटन विस्तारको सम्भावना बढाएको बताए। काठमाडौंमा रहेका क्रिकेट पूर्वाधारसँगै पोखरा र चितवनमा पनि पूर्वाधार विकास हुँदै जाँदा नेपाल क्रिकेटको महत्त्वपूर्ण केन्द्र बन्न सक्ने उनको भनाइ छ।

पत्रकार अजय फुयाँलले एनपीएलमा सहभागी विदेशी खेलाडीहरूले पशुपतिनाथ, लुम्बिनी र जानकी धामजस्ता धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गरी सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दा नेपालको अन्तर्राष्ट्रिय पहिचान विस्तार भइरहेको बताए। उनका अनुसार एनपीएलले नेपालको पर्यटन प्रवर्द्धनका लागि नयाँ अवसर सिर्जना गरेको छ।

एनपीएल क्रिकेट प्रतियोगितामा मात्र सीमित नभई पर्यटन, आर्थिक गतिविधि र नेपालको अन्तर्राष्ट्रिय छवि विस्तारसँग जोडिएको अवसरका रूपमा विकास हुँदै गएको खेल पत्रकारहरूको धारणा छ। यद्यपि, यसबाट दीर्घकालीन लाभ लिन खेल पूर्वाधार, पर्यटन सेवा, यातायात र अन्तर्राष्ट्रिय प्रचारलाई समेत सँगसँगै अघि बढाउनुपर्ने देखिन्छ।

एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मङ्सिर ६ गतेसम्म काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ।

Tokha