फास्ट ट्र्याकमा टुचन मेसिन दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

फास्ट ट्र्याकमा टुचन मेसिन दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-८ महादेवटार छोक्रेडाँडास्थित निर्माणाधीन काठमाडौं-तराई-मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत पुल नम्बर १ मा टुचन मेसिन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मंगलबार साँझ करिब ६ बजे खाडल खन्ने कार्य सकेर टुचन मेसिनमा सवार भई माथि आउने क्रममा एक्कासी ब्रेक फेल भई करिब २१ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिआइजी पुष्कर बौटीले जानकारी दिए ।

उक्त दुर्घटनामा सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङपाल गाउँपालिका-५ निवासी २९ वर्षीय अर्जुन थिङको घटनास्थलमै मृत्यु भएको उनले बताए। त्यसैगरी, खाडलभित्र कार्यरत पाँचपोखरी थाङपाल गाउँपालिका-६ निवासी ३७ वर्षीय जुल्फे तामाङ माथिबाट खसेको टुचन मेसिनको चोट लागि घाइते भएको डिआइजी बौटीले जानकारी दिए । घाइते तामाङलाई तत्काल उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको र उनको अवस्था मध्यम रहेको जनाइएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी नायब निरीक्षक राजन थापाको कमाण्डमा प्रहरी टोली खटिई घटनास्थल पुगेर आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ । घटनास्थल सुरक्षित राखिएको तथा कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान अगाडि बढाइने डिआइजी बौटीले बताए ।

Tokha