काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार बैंकको खुद नाफा गत वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा घटेको छ ।
चालु आवको साउनदेखि पुससम्ममा बैंकले १ अर्ब १ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा २४.०८ प्रतिशत कम हो । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी सामान्य बढे पनि खराब कर्जा बढेका कारण बैंकको खुद नाफा घटेको हो ।
समीक्षा अवधिमा खुद ब्याज आम्दानी २.३८ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी ४.५९ प्रतिशत बढेको छ । कुल सञ्चालन आम्दानी ०.४३ प्रतिशत बढेको छ भने सञ्चालन नाफा २२.०५ प्रतिशत घटेको छ । बैंकको खराब कर्जा समीक्षा अवधिमा ५.०६ प्रतिशतबाट बढेर ७.९४ प्रतिशत पुगेको छ । खराब कर्जा बढेका कारण इम्पेयरमेन्ट चार्ज ८१ करोड ४२ लाख रुपैयाँबाट बढेर १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।
पुस मसान्तमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३५ करोड ६४ लाख रुपैयाँ ऋणात्मक छ । नाफा घट्दा बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । पुस मसान्तसम्ममा प्रतिसेयर आम्दानी २ रुपैयाँ ७३ पैसाले घटेर ८ रुपैयाँ ६२ पैसामा झरेको छ । प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ १७ पैसा छ भने मूल्य आम्दानी अनुपात २१.२७ गुणा छ ।
चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोष ६ महिनामा ४२.८६ प्रतिशतले घटेको छ । त्यस्तै, निक्षेप ०.४२ प्रतिशत घटेको छ भने कर्जा तथा सापटी ०.८३ प्रतिशत बढेको छ ।

































