काठमाडौं । लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई फाइनलमा पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि आफ्नो नाममा लेखाएको छ । यससँगै लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन बनेको छ भने सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक उपविजेतामा सीमित भएको छ ।
बलिङतर्फ कप्तान रोहित पौडेलसँगै शेर मल्ल र रुबेन ट्रमपलम्यानको प्रभावशाली प्रदर्शनका कारण सुदूरपश्चिम ८५ रनमै अलआउट भयो।
८६ रनको सहज लक्ष्य पछ्याएको लुम्बिनीले मात्र ९ ओभरमा लक्ष्य पूरा गर्दै ऐतिहासिक उपाधि जित्न सफल भयो ।
उपाधि यात्रामा लुम्बिनीले लगातार छ खेल जित्दै शानदार लय देखाएको थियो। प्रतियोगिताको सुरुवातमा चितवन राइनोजलाई हराएपछि लगातार तीन खेलमा पराजित हुँदा लिग चरणबाटै बाहिरिने जोखिममा पुगेको लुम्बिनीले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै अन्ततः एनपीएलको ट्रफी उचालेको हो ।
फाइनल खेलमा लुम्बिनीका ओपनर दिनेश अधिकारीले सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई पहिलो ओभरमै चार छक्का प्रहार गर्दै आक्रामक सुरुवात गरेका थिए ।

































