सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला २ लाख ६० हजार नजिक

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला २ लाख ६० हजार नजिक

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य हालसम्मकै उच्च तहमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि असोज ३१ गते सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो । अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँले वृद्धि भएको हो । शुक्रबार सुन प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य अझै कात्तिक ३ गते को रेकर्ड तोड्न सकेको छैन । उक्त दिन सुन प्रतिऔंस ४ हजार ३५६ अमेरिकी डलरसम्म पुगेको थियो । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस करिब ४ हजार २९९ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

साथै अमेरिकी डलरको मूल्यवृद्धिको प्रभावले अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपाली बजारमा सुनको मूल्य छिटो रेकर्ड स्तरमा पुगेको महासंघले जनाएको छ ।

यसैबीच चाँदीको मूल्य घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च प्रतितोला ३ हजार ९०५ रुपैयाँ पुगेको चाँदी आज ८० रुपैयाँले घट्दै प्रतितोला ३ हजार ८२५ रुपैयाँमा झरेको छ ।

Tokha