बाग्मती प्रदेश सरकारद्वारा चार महिनामा ११ अर्ब ५९ करोड राजस्व संकलन

बाग्मती प्रदेश सरकारद्वारा चार महिनामा ११ अर्ब ५९ करोड राजस्व संकलन

मकवानपुर । चालु आर्थिक वर्षको पहिलो चार महिनामा बाग्मती प्रदेश सरकारले वार्षिक लक्ष्यको १७.१८ प्रतिशत अर्थात् ११ अर्ब ५९ करोड ११ लाख ४१ हजार राजस्व संकलन गरेको छ ।

घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व संकलनको मुख्य स्रोत मानिन्छ । दुवै शीर्षकसहित बाँडफाँट आव २०८२/८३ मा ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार राजस्व संकलन हुने अनुमान गरिएकोमा साउनदेखि कात्तिकसम्ममा लक्ष्यको २२.४५ प्रतिशत अर्थात् ६ अर्ब ९३ करोड ६४ लाख ४६ हजार राजस्व संकलन भएको वाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिए ।

चालु आव २०८२/८३ मा घरजग्गा रजिष्ट्रेशन शीर्षकबाट सात अर्ब ७० करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकमा चारमा त्यसको करिब १६.७ प्रतिशत अर्थात् एक अर्ब २३ करोड ७० लाख ३५ हजार राजस्व संकलन भएको छ ।

यस्तै प्रदेश सरकारले सवारीसाधन जाँचपास, रुट पर्मिट, सवारीचालक अनुमतिपत्र वितरण तथा नवीकरणअन्तर्गत सवारी कर शीर्षकबाट आव २०८२/८३ मा आठ अर्ब २५ करोड अनुमान गरिएकोमा कात्तिक महिनासम्म २८.२ प्रतिशत अर्थात् दुई अर्ब ३१ करोड १८ लाख ४२ हजार राजस्व संकलन गरेको छ ।

प्रदेश सरकारले बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत रु आठ अर्ब ७९ करोड ८६ लाख ६७ हजार प्राप्त हुने अनुमान गरिएकोमा सो अवधिसम्ममा दुई अर्ब ४९ करोड ५५ लाख ३५ हजार संकलन भएको छभने अन्तःशुल्क करबापत चार अर्ब तीन करोड ७९ लाख नौ हजार प्राप्त हुने अनुमान गरिएकोमा ८४ करोड ३६ लाख २१ हजार प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत १४ अर्ब ८१ करोड ९३ लाख प्राप्त हुने अनुमान गरिएकोमा पहिलो चार महिनाको अवधिमा त्यसको २३.३७ प्रतिशत अर्थात् तीन अर्ब ४६ करोड ३४ लाख ७१ हजार मात्र प्राप्त भएको सूचना अधिकारी पौडेलले बताए ।

चालु आव २०८२/८३ मा प्रदेश सरकारको आन्तरिक स्रोतबाट संकलित राजस्वबाट चार अर्ब ७७ करोड ७४ लाख २५ हजार प्राप्त हुने अनुमान गरिएकोमा चार महिनाको अवधिमा लक्ष्यको २३.७० प्रतिशत अर्थात् एक अर्ब १३ करोड २२ लाख २८ हजार मात्र प्राप्त भएको छ ।

Tokha