सुनाचुरी, मकवानपुरमा ६५ वर्षीय पुरुष मृत अवस्थामा फेला

सुनाचुरी, मकवानपुरमा ६५ वर्षीय पुरुष मृत अवस्थामा फेला

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका-६ सुनाचुरीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मिति २०८२/०८/०२ गते बिहान करिब ८:३० बजे स्थानीय ६५ वर्षीय बलबहादुर राई आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनाबारे जानकारी पाएसँगै सोही वडाका वडा अध्यक्षले प्रहरी चौकी सुनाचुरीलाई खबर गरेका थिए । जानकारी प्राप्त भएपछि प्रहरी हवल्दार शम्भु नारायण साहको कमाण्डमा प्रहरी टोली तत्काल घटनास्थल पुगेर क्षेत्र सुरक्षित गरेको प्रहरीले जनाएको छ ।

थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक दीपक थापाको कमाण्डमा SOCO (Scene of Crime Officer) सहितको टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ । घटनास्थल प्रहरी चौकी सुनाचुरीबाट करिब ३ किलोमिटर पूर्व र इलाका प्रहरी कार्यालय मनहरीबाट झण्डै ७ किलोमिटर पश्चिममा पर्ने बताइएको छ ।

मृतकको मृत्युको कारणबारे प्रारम्भिक अवस्थामै केही खुल्न बाँकी रहेकाले विस्तृत विवरण आउने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक (एसपी) सुभाष चन्द्र बोहोरा जानकारी दिएका छन्।

Tokha