जेनजी आन्दोलनपछि विराटनगरमा ‘छायाँ प्रशासन: त्रैमासिक समीक्षा टेन्टमा
मोरङ । आन्दोलनको आगो निभिसक्दासमेत विरानगर महानगरपालिका आफ्नो नियमित प्रशासनिक तालमा फर्किन सकेको छैन ।
यही अव्यवस्थित अवस्थामै महानगरले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक समीक्षा गोष्ठी भवनभित्र होइन, अस्थायी टेन्टभित्र बसेर सम्पन्न गर्यो।
अवस्था नयाँ होइन-जेनजी आन्दोलनका क्रममा प्रशासनिक भवनदेखि दर्जनभन्दा बढी वडासम्म आगजनी र तोडफोड भएपछि महानगरको दैनिकी केही महिनादेखि अस्थायी संरचनाभर टिकेको छ । तर त्रैमासिक समीक्षा जस्तै नीति-निर्णयका बैठकसमेत टेन्टमा बस्नुपर्ने अवस्था भने अपवादस्वरूप देखिएको छ ।
समीक्षामा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलाल उपस्थित थिए । महानगरका विभिन्न महाशाखा प्रमुखहरूले ३ महिनाको कार्यप्रगति क्रमशः प्रस्तुत गरे। भवन अभावका कारण सामान्यतया ‘प्रोजेक्टर-पोडियम’ व्यवस्थामा चल्ने प्रस्तुति यसपटक प्लास्टिक कुर्चीदेखि क्यानोपीको छायासम्म सीमित थियो।
यस अवधिमा महानगरले आन्तरिक स्रोतबाट करिब १२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । ३५ नयाँ व्यवसाय दर्ता हुँदा उस्तै संख्यामा ३५ व्यवसाय खारेज भएका छन् । करिब ३ हजार ५५ व्यवसाय नविकरण भएका छन् । महाशाखा प्रमुखहरूको भनाइमा, ‘सेवा प्रवाह कठिन भए पनि राजस्व सञ्चालन स्थिर राखिएको’ छ ।
जेनजी आन्दोलनपछि वडा नं. १ देखि १२ र १९ सम्मका कार्यालयहरू क्षतिग्रस्त बनेका छन् । कतिपय वडामा कार्यलय पुनःस्थापना नभएकाले सेवाग्राहीहरू अस्थायी काउण्टरमा निर्भर रहनुपरेको छ । यही कारण महानगरले त्रैमासिक समीक्षा समेत टेन्टभित्र आयोजना गर्नुपरेको सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले बताए।

































