काठमाडौं । मकवानपुरमा सोमबार बिहान ग्यास बुलेटले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
चितवनबाट मनहरीतर्फ गइरहेको बा.प्र.२-०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशातर्फ आउँदै गरेको एनएल ०१ एन ०२८० नम्बरको ग्यास बुलेटले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनामा स्कुटर चालक सिन्धुपालचोक चौतारा नगरपालिका–५ का ३० वर्षीय केदार श्रेष्ठको मृत्यु भएको छ। उनकी २८ वर्षीया श्रीमती सरस्वती श्रेष्ठ र २ वर्षीय छोरा प्रवीन श्रेष्ठ घाइते भएका छन्।
गम्भीर घाइते केदारलाई हेटौंडा अस्पताल पुर्याइए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। सरस्वती र प्रवीनलाई चितवनको एलाइभ अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। सरस्वतीको अवस्था गम्भीर रहेको बताइएको छ भने बालक प्रवीनको अवस्था सामान्य छ।
ठक्कर दिने ग्यास बुलेट र चालक भारत बिहार निवासी ५५ वर्षीय मोहमद मतिनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

































