टोकियो । जापानको लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी)की नेता सनई टाकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी छन्। उनले संसदको तल्लो सदनबाट ४६५ सदस्यमध्ये २३७ मत प्राप्त गरी बहुमत पार गरेपछि प्रधानमन्त्री पदमा अनुमोदन पाएकी हुन् ।
६४ वर्षीया टाकाइची एलडिपीको नेता हुन सन् २०२१ र २०२२ मा असफल भए पनि तेस्रो प्रयासमा सफल भइन्। उनले पूर्वप्रधानमन्त्री सिन्जिरो कोइजुमीलाई हराएर पार्टी नेतृत्व सम्हालेकी थिइन्।
जापानमा चरम लैंगिक असमानता र परम्परावादी सोच रहँदा पनि उनी पहिलो महिला प्रधानमन्त्री भइसकेकी छन्। तर, टाकाइची आफैँ परम्परावादी विचारधाराकी हुन्। उनी विवाहित जोडीले अलग थर राख्न पाउनुपर्ने, राजकुमारीलाई पनि उत्तराधिकारी हुन पाउनुपर्ने जस्ता महिला अधिकारका मागको विरोध गर्छिन्।
राजनीतिक रूपमा उनी दक्षिणपन्थी कन्जरभेटिभ हुन् र सामाजिक विषयमा परम्परावादी, आर्थिक नीतिमा न्यून कर र साना सरकारको पक्षधर हुन्। आबेको ‘आबे-नोमिक्स’ नीतिलाई समर्थन गर्दै उनी आर्थिक रूपमा विस्तारवादी तर सामाजिक रूपमा कट्टरपन्थी विचारधाराकी हुन्।
न्य र सुरक्षा मामिलामा पनि उनी बलियो सेना र शान्तिको संविधान संशोधनको पक्षमा छिन्। टाकाइचीको दृष्टिकोण जापानको चीन, उत्तर कोरिया र दक्षिण कोरियासँगको सम्बन्धमा प्रभाव पार्न सक्ने सम्भावना छ।

































