झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा ७५ करोड २७ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। संकलन गरिएको यो रकम चालु आवको वार्षिक लक्ष्यको करिब १६.९० प्रतिशतको बराबर हो।
कार्यालयले चालु आर्थिक वर्षमा कुल चार अर्ब ४५ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। प्रमुख कर अधिकृत गोपालबहादुर थापाका अनुसार, ‘पहिलो त्रैमासिकको लक्ष्य ८७ करोड १० लाख २८ हजार रुपैयाँ रहेकोमा हालसम्म ८६.४२ प्रतिशत मात्र हासिल भएको छ।’
त्रैमासिक अवधिमा संकलन भएको रकममा आयकरबाट २७ करोड २६ लाख ७५ हजार, मूल्य अभिवृद्धि करबाट ३१ करोड ९ लाख २४ हजार र अन्तःशुल्कबाट १८ करोड ६९ लाख ५२ हजार रुपैयाँ प्राप्त भएको छ। गत आवको पहिलो त्रैमासिकमा कार्यालयले ६९ करोड २८ लाख ५७ हजार रुपैयाँ संकलन गरेको थियो।
प्रमुख कर अधिकृत थापाले थपे कि, राजस्व संकलनको लक्ष्य हासिल गर्न कार्यालयले बजार अनुगमन र निगरानीलाई निरन्तरता दिनेछ। साथै, करदातामा अत्यधिक दबाब नपरी लाभग्राही केन्द्रित व्यावहारिक कर शिक्षा प्रदान गर्ने योजना समेत अघि बढाइँदैछ।
































