स्पेन कानुनीकरण प्रक्रियामा नयाँ झट्का: नेपाली कागजात प्रमाणीकरण अब दिल्लीबाट मात्रै

स्पेन कानुनीकरण प्रक्रियामा नयाँ झट्का: नेपाली कागजात प्रमाणीकरण अब दिल्लीबाट मात्रै

बार्सिलोना । स्पेनको आप्रवासी कानुनीकरण प्रक्रियामा सहभागी हुन खोजिरहेका हजारौं नेपाली नयाँ प्रशासनिक निर्णयपछि अन्योलमा परेका छन्।

काठमाडौंस्थित स्पेनिश कन्सुलेट कार्यालय लाई २४ अप्रिल २०२६ देखि नेपाली कागजात प्रमाणीकरण गर्ने अधिकार रोकिएपछि अब उक्त प्रक्रिया भारतको स्पेनको दूतावास, नयाँ दिल्ली मार्फत मात्र गर्नुपर्ने भएको छ।

यसले समय, खर्च र प्रक्रिया थप जटिल बनाएको छ। करिब ३–४ हजार नेपालीको प्रहरी रिपोर्ट प्रमाणीकरण हुन बाँकी रहेको बताइएको छ।

जुन ३० भित्र आवेदन बुझाइसक्नुपर्ने समयसीमाबीच यो निर्णयले धेरै नेपाली आप्रवासी अवसर गुम्ने चिन्तामा परेका छन्। स्पेनमा रहेका नेपालीका परिवारका अनुसार कागजात तयारीका लागि पहिले नै भीड, लाइन र ढिलाइको समस्या थियो। अब दिल्ली जानुपर्ने नयाँ व्यवस्थाले उनीहरूलाई थप अन्योलमा पारेको छ। कसरी अपोइन्टमेन्ट लिने, प्रक्रिया कस्तो हुने भन्नेबारे स्पष्ट जानकारी नहुँदा धेरैजसो आवेदक मानसिक तनावमा छन्।

उता, स्पेनमा यो कानुनीकरण प्रक्रिया सुरु भएको पाँच दिनमै १ लाख ३० हजार आवेदन परिसकेको छ। सरकारको ५ लाख आप्रवासीलाई वैधानिकता दिने लक्ष्यमध्ये यो करिब २६ प्रतिशत हो। तर, प्रक्रियामा देखिएका जटिलता र प्रशासनिक अवरोधले आवेदकहरूलाई निराश बनाइरहेको छ।

Tokha